भक्तपुर । भक्तपुरमा धेरै शिवका मन्दिरहरु छन्, जुन शिवरात्रिमा मात्रै खुल्ने गर्दछ । ती मन्दिरहरुमध्ये सबैभन्दा बढी चर्चित शिव मन्दिर हो, जिल्लाको सिपाडोलमा रहेको प्रसिद्ध केदारनाथको शिर डोलेश्वर महादेव ।
वार्षिक कार्यक्रम अनुसार शिवरात्रिका दिन सर्वसाधारण भक्तजनहरूका लागि मन्दिरका चारै ढोका बिहान ४ बजेदेखि राति १२ बजेसम्म खुल्ला गरिने चलन रहेको छ ।
यही कारण शिवरात्रीको अवसरमा डोलेश्वर महादेव मन्दिरमा भक्तजन स्वयम् मन्दिरभित्र प्रवेश गरी पूजा गर्ने व्यवस्था छ । अन्य दिन पुजारीमार्फत पूजा गर्ने यस मन्दिरमा वर्षको तीन दिन भक्तजन स्वयम् मन्दिरभित्र प्रवेश गरी पूजा गराउने परम्परा रहेको छ ।
केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले जनाए अनुसार डोलेश्वर महादेव मन्दिरमा अक्षय तृतीया, डोलेश्वरलाई केदारनाथको शिर घोषणा गरेको दिन भदौ ६ गते पनि भक्तजन मन्दिरभित्र प्रवेश गरी स्वयमले पूजा गर्न पाइने व्यवस्था रहेको छ ।




