बारा । बारा पचरौता नगरपालिका ४ का अध्यक्ष कन्हैयालाल यादवले गलत तरिकाबाट बाटो सिफारिश गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालले मुद्दा दायर गरेको छ ।
आयोगले जारी गरेको प्रेस विज्ञप्ति अनुसार वडाध्यक्ष यादवले कालोपत्रसँग जोडिएको जग्गा खेत रहेको भनी बाटो सिफारिश गरी लाखौं रुपैयाँ राजस्व हिनामिना गरेको स्थानीयले उजूरी गरेका थिए ।
पचरौता नपा-४ (साबिक बेलदारी गाविस वडा नं. ४) को किता नं १७३ क्षेत्रफल ०–९–५ जग्गा विद्या यादवको थियो । सो जग्गा स्थानीय अवधकिशोर यादव र बृजकिशोर यादवले मालपोत कार्यालय, बाराबाट संयुक्त पुर्जा बनाइ राजीनामा पास गर्न सिफारिश गरेका थिए ।
विवादित जग्गा ३० फिटको कालोपत्र सडकसँग जोडिएको जग्गा हो । तर, राजस्व हिनामिना गर्ने उद्देश्यले वडाध्यक्ष यादवले सो जग्गा खेत भएको भन्दै २०८० वैशाख १८ गते बाटो सिफारिश गरेका थिए ।
अहिले सो जग्गाको मूल्य एक करोडभन्दा बढी रहेको तर वडाध्यक्ष यादवले ९ लाख मूल्याङ्कन गरी राजस्वको रकम हिनामिना गरेको देखिन्छ । अख्तियारले वडाध्यक्ष कन्हैयाले बाटो सिफारिशमा ८ लाख ११ हजार ९५१ रुपैयाँ राजस्व हिनामिना गरेको भन्दै असुलउपर गर्न कारवाहीको लागि सिफारिश गरेको छ ।
त्यसैगरी, जग्गा बिक्री गर्ने विद्या यादवमाथि पाँच लाख ३४ हजार १८७ लाभकर छलेको, जग्गा खरीदकर्ता बृजकिशोर यादव र अवधकिशोर यादवले २ लाख ७७ हजार ४६३ रजिस्टेशन दस्तुर छली गरेको भन्दै उनीहरूमाथि पनि आरोपपत्र दायर भएको छ ।




