सर्लाही । सर्लाहीको सदरमुकाम मलंगवा बुधबार बिहानदैखि बन्द भएको छ । मलंगवा नगरपालिका ९ स्थित राजदेवी मन्दिरको मन्दिरमा रहेका मूर्ति अज्ञात व्यक्तिले तोडफोड गरेको विरोधमा स्थानीयले बजार बन्द गराएका थिए ।
मलंगवा नगरपालिका र ब्रह्मपुरी गाउँपालिकाको सिमानामा पर्ने झिम नदी नजीकै रहेको राजदेवी मन्दिरमा मंगलबार राति केहि व्यक्ति पसेर देवी देवताको तस्वीर र फूलमत माताको शक्तिपीठमा तोडफोड गरी क्षति पुर्याएको भन्दै स्थानीय युवाहरूले बिहान मोटरसाइकल जुलुस निकालेर नाराबाजी गर्दै बजार, यातायात, कार्यालय एवम् विद्यालय बन्द गराएका हुन् ।
यस्तै दिउँसो तीन बजेपछि लामो तथा छोटो दूरीको सवारी साधन सञ्चालनमा आएको थियो । प्रहरीले घटनामा संलग्न रहेको आशंकामा दुई जनालाई नियन्त्रणमा लिएको छ । दिउँसो सुरक्षा निकायका प्रमुख लगायत स्थानीय जनप्रतिनिधिहरूले घटनास्थलको निरीक्षण गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम् डिएसपी दीपेन्द्र पञ्जियार थारूले आपसी सद्भाव बिथोल्ने कुनै पनि कार्य नगर्न स्थानीयहरूसँग आग्रह गरेका छन् । नगरको ठाउँ ठाउँमा सुरक्षाकर्मी परिचालन गरिएकाले अप्रिय घटना नभएको प्रहरी प्रवक्ता थारुले बताए ।




