वीरगञ्ज । अत्यधिक गर्मीका कारण वीरगञ्ज महानगरभित्रका विद्यालयको पठन पाठन तीन दिन बन्द हुने भएको छ । वीरगञ्ज आसपास क्षेत्रको तापक्रम बढेर बिहानी सत्रको पठन पाठन कार्य पनि प्रभावित भएसँगै जेठ १६ देखि १८ गतेसम्म तीन दिन विद्यालयको पठन पाठन कार्य बन्द गर्न लागिएको हो ।
वीरगञ्ज महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले अत्यधिक गर्मीको कारणले पठन पाठनमा असहज भएको भन्दै अभिभावक, विद्यार्थी र शिक्षकबाट गुनासो आएसँगै महानगर शिक्षा समितिको आज बसेको बैठकले तीन दिन पठन पाठन बन्द गर्ने निर्णय गरेको बताए । भोलि भने गणतन्त्र दिवसको सार्वजनिक बिदा छ ।
महाशाखा प्रमुख कर्णले बिदा घोषणा गरेपनि मौसम सुधार भएको खण्डमा भने पठनपाठन गर्न सकिने पनि बताए । महानगर शिक्षा समितिको २०८१ वैशाख १७ गतेको निर्णयअनुसार अत्यधिक गर्मीका कारणले दिउँसोको समयमा पठन पाठन कार्य असहज भएको भन्दै बिहान ६ बजेदेखि गर्ने निर्णय गरेको थियो ।
गत वैशाख २० गतेदेखि वीरगञ्ज महानगर क्षेत्रमा बिहानीको समयमा पठन पाठन हुँदै आएको थियो । महानगरभित्र सामुदायिकतर्फ ९२ वटा र निजीतर्फ एक सय ३८ विद्यालय छन् । सामुदायिक विद्यालयतर्फ २१ माध्यमिक, १५ आधारभूत, ५५ वटा प्राथमिक विद्यालय र एउटा पूर्वप्रथामिक विद्यालय रहेको छ ।




