काठमाडौं । कीर्तिमानी हिमाली आरोही निर्मल पुर्जा (निम्स) विरुद्ध विभिन्न महिलाले यौन दुर्व्यवहारको आरोप लगाएका छन् । शुक्रबार प्रकाशित अमेरिकी अखबार ‘द न्युयोर्क टाइम्स’मा ती महिलाले पुर्जाले आफ्नो असहमति हुँदा हुँदै चुम्बन गर्नेदेखि गोप्य अंग छुनेसम्म हर्कत गरेको दाबी गरेका छन् ।
द न्युयोर्क टाइम्सका अनुसार पूर्वमिस फिनल्यान्ड लोता हिन्स्टाले २०२३ मार्च ३० मा काठमाडौं आएका बेला पुर्जाले एक होटलमा आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएकी हुन् ।
यसअघि डिसेम्बरमा प्रकाशित आफ्नो संस्करणात्मक पुस्तक ‘द माउन्टेन्स अफ माई लाइफ २’मा पनि उनले पुर्जाको नाम नलिई एक जना चर्चित आरोहीले आफ्नो सहमति बिना चुम्बन गरेको उल्लेख गरेकी थिइन् ।
शुक्रबार प्रकाशित न्युयोर्क टाइम्समा भने उनले ती व्यक्ति पुर्जा नै भएको बताएकी हुन् । पुर्जाले कफी पिउने बहानामा आफ्नो कोठासम्म लिएर गएको र यौन दुर्व्यवहार गरेको उनको आरोप छ । पुर्जा पूर्वबेलायती सेना तथा बलियो व्यक्ति भएकाले उनका अगाडि आफ्नो केही नलागेको हिन्स्टाको भनाइ छ ।
यस विषयमा पुर्जाले प्रतिक्रिया दिन नचाहेको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ । तर उनका वकिल फिलिप केलीले लिखित जवाफ दिँदै ‘आरोप झुटा र अपमानजनक भएको’ बताएको पत्रिकाले लेखेको छ ।
क्यालिफोर्नियाकी एक जना डा. अप्रिल लियोनार्दोले पनि पुर्जाले आफ्नो अनुमतिबिना पटक पटक चुम्बन गरेको आरोप लगाएकी छन् । विश्वको दोस्रो सर्वोच्च शिखर केटु हिमाल चढ्ने बेला गाइड गरेका पुर्जाले दुर्व्यवहार गरेको उनको दाबी छ । उनको आरोपको पनि पुर्जाका वकिलले भने खण्डन गरेका छन् ।
पुर्जाले आफ्नो एलाइट हिमालयन एड्भेन्चरमार्फत आरोहीलाई हिमाल चढ्न सहयोग गर्छन् । उनले कतारको राजपरिवार सदस्य आश्मा थानीदेखि रसियन मोडल भिक्टोरिया बोन्यासम्मलाई गाइड गरेका छन् ।




