रौतहट । रौतहटको बृन्दावन नगरपालिकाका मेयर विनोदप्रसाद कुर्मीको इशारामा बागमती नदीमा व्यापक रुपमा गैरकानुनी तरिकाले उत्खनन् भइरहेको छ । तर, जिल्ला समन्वय समितिसँगै नियमनकारी निकायहरू मौन बसेका छन् ।
बृन्दावन नगरपालिकास्थित बागमती नदीबाट नदीजन्य पदार्थ निकाल्ने विषयमा दुई पक्षबीच उत्पन्न विवादको कारण अवस्था तनावग्रस्त बनेको छ ।
मेयर कुर्मी पक्षले नदीजन्य पदार्थ उठाउने र पूर्वमेयर रामस्नेही यादव पक्षले उठाउन नदिने पक्षमा अडान लिएको कारण विवाद हुँदा अवस्था तनावग्रस्त बनेको थियो । इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ओमप्रकाश खनालको नेतृत्वमा सोमबार राति गएको टोलीले दुवै पक्षलाई सम्झाई-बुझाई अवस्था साम्य पारेको थियो ।
दुवै पक्षबाट जम्मा भएका सयौं मानिस पटक-पटक घम्साघम्सी गर्न थालेपछि अवस्था नियन्त्रणमा लिन निकै कठिनाई भएको थियो । तर, जसोतसो सम्झाएर पठाएपछि कुनै अप्रिय घटना भएन डिएसपी खनालले जानकारी दिएका छन् ।
मेयर पटेलले बागमती नदीको टेण्डर आहृवान नगरी बृन्दावन नगरपालिका-१ बलेरीस्थित बागमती नदीबाट अमानतमा आफ्ना मानिसमार्फत् नदीजन्य वस्तु निकाल्न थालेपछि विवाद उत्पन्न भएको थियो ।
मेयर कुर्मीले आर्थिक लाभको लागि आफ्नै नजिकका मिनिस तथा आफन्तलाई अमानतमा बागमती नदीको ठेक्का दिएर गैरकानुनी रूपमा नदीजन्य पदार्थ निकाल्न थालेको पूर्वमेयर रामस्नेही यादवले दाबी गर्दै आएका छन् ।
गत आइतबारदेखि नदीजन्य पदार्थ निकाल्न सुरू गरेपछि ठूलो संख्यामा गाउँलेहरू नदीमै पुगेर केही समय रोक लगाएका थिए । लगत्तै मेयर कुर्मीले प्रहरीको सहयोगमा बागमतीमा पुनः उत्खनन् सुरु गरेको पूर्वमेयर यादवले आरोप लगाएका छन् ।
नियमविपरीत पालिकाले बागमतीमा स्काभेटर प्रयोग गरेर टिपरबाट नदीजन्य वस्तु निकाल्न थालेको पूर्वमेयर यादवको भनाइ छ । तर, गैरकानुनी रुपमा उत्खनन् भइरहेको आरोप लागेपनि प्रहरी समेतले मेयर पटेललाई सहयोग गरिरहेको छ ।
बागमती नदी उत्खनन् नगर्न गाउँलेले पटक पटक गरेको आग्रहविपरीत मेयर पटेलले प्रहरी परिचालन गराएर नदीजन्य पदार्थ निकाल्ने गरेको बृन्दावन नगरपालिका १ का पूर्ववडाध्यक्ष सुबोध पटेलले गुनासो गरेका छन् । मेयर कुर्मीले सोमबार साँझ पिकनिकको निहुँमा ठूलो संख्यामा मानिस जम्मा गरेर नदी उत्खनन् गराइरहेको गाउँलेहरूले बताएका छन् ।
जेठ महिनाको अन्तिम साता नदी उत्खनन् बन्द गर्ने समयमा मेयर कुर्मीले उत्खनन् गराइरहेको आरोप लागेको छ । अनियन्त्रित रूपमा बागमती नदीमा भइरहेको उत्खननले रमौली, हरैया, समनपुरलगायत आधा दर्जन गाउँहरू जोखिममा पर्ने ठूलो खतरा रहेको गाउँलेहरूले बताएका छन् ।
मेयर पटेल भन्ने सम्पर्कमा आउन चाहेनन् । उता जिल्ला समन्वय समिति रौतहटका सभापति राम अयोध्या यादवले निरीहतासँगै अनभिज्ञता प्रकट गरेका छन् । ‘गैरकानुनी रुपमा उत्खनन गर्नु हुँदैन, कारबाही गर्न हामीसँग स्रोतसाधन छैन’ भन्दै सभापति यादवले ‘के साँच्तै बागमती नदीमा अवैध उत्खनन् भइरहेको हो त ?’ भन्दै उल्टै प्रश्न गरे ।
पछिल्लो समय समन्वय समितिसँगै नियमनकारी निकायको मौनताको कारण बागमती, लालबकैया, चाँदी लगायतको नदीबाट व्यापक रुपमा नदीजन्य पदार्थको दोहन भएको छ । न्यूज कारखाना




