बीबीसी । राहुल गान्धी भारतको मुख्य विपक्षी दलका नेता मात्र होइनन्, त्यहाँको चर्चित राजनीतिक परिवारका सदस्य पनि हुन् । उनी दशकौँसम्म भारतीय राजनीतिमा प्रभाव जमाएको नेहरू-गान्धी परिवारका राजनीतिक उत्तराधिकारी हुन् ।
उनी पहिलो पटक सन् २००४ मा संसदीय निर्वाचनमा उठेका थिए । त्यस वर्ष उनले भारतको तल्लो सदन लोकसभा सदस्यका रूपमा उत्तरप्रदेश राज्यको अमेठीबाट चुनाव जिते । तर आफ्नो दललाई चुनाव जिताउन विफल भए ।
यसपालिको निर्वाचनमा भने उनी र उनको पार्टी संलग्न गठबन्धनले भाजपालाई एक्लै बहुमत पुर्याउन रोकेको छ । अमेठीमा सन् २०१९ मा उनी प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी (भाजपा) की उम्मेदवार स्मृति इरानीसँग पराजित भएका थिए ।
उत्तर प्रदेशमा भाजपालाई खुम्च्याउन क्षेत्रीय दल समाजवादी पार्टीका नेता अखिलेश यादव र काङ्ग्रेसका राहुल गान्धीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको ठानिन्छ ।
यादवको दलले उत्तर प्रदेशमा ८० मध्ये ३७ सीट जितेको छ भने काङ्ग्रेसले छ सीट जितेको छ । उनी अहिलेसम्म मन्त्री बनेका छैनन् । उनी ५४ वर्षका भए । उनको राजनीतिक पृष्ठभूमिका कारण अहिले पनि गान्धी विपक्षका प्रमुख राजनीतिक व्यक्ति हुन् ।
प्रारम्भिक जीवन
सन् १९७० जुन १९ मा जन्मिएका राहुल गान्धीले भारतका उत्कृष्ट स्कूलहरूबाट शिक्षा प्राप्त गरे भने अमेरिका पुगेर उच्च शिक्षा लिए । सन् २००२ मा मुम्बई फर्किएर काम सुरु गर्नुअघि उनले लन्डनमा काम गरेका थिए ।
उनलाई सधैँ अन्तर्मुखी र राजनीतिमा खासै चासो नभएका व्यक्तिका रूपमा हेरिन्थ्यो । उनको साटो उनकी दिदी प्रियङ्कालाई परिवारको राजनीतिक बिँडो थाप्ने व्यक्तिका रूपमा हेर्ने गरिन्थ्यो ।
सन् २००४ को निर्वाचनअघि राजनीतिमा प्रवेश गर्ने उनको घोषणाले धेरैलाई आश्चर्यमा पारेको थियो । उनी लज्जालु स्वभावका थिए । उनको चाख राजनीतिभन्दा पनि क्रिकेट र अन्य क्रियाकलापमा रहेको ठानिन्थ्यो ।
विरासतमा राजनीति
उनका जिजुबुवा जवाहरलाल नेहरू स्वतन्त्र भारतका पहिला प्रधानमन्त्री थिए । उनकी हजुरआमा इन्दिरा गान्धी र बुवा राजीव गान्धी पनि भारतका प्रधानमन्त्री बने । राहुलकी हजुरआमा र बुवा दुवैको सात वर्षको अन्तरालमा हत्या भएको थियो । सन् २००७ को सेप्टेम्बरमा उनलाई काङ्ग्रेस पार्टीको महासचिव बनाइयो । त्यस बेला इटलीमा जन्मिएकी उनकी आमा सोनिया गान्धी उक्त दलकी अध्यक्ष थिइन् ।
स्वास्थ्यका कारणले आफ्नो छोरालाई कार्यभार हस्तान्तरण गर्नुपर्ने अवस्थामा नपुग्दासम्म सोनिया गान्धी उक्त दलकी प्रमुख थिइन् । सन् २०१३ मा राहुल गान्धी काङ्ग्रेस पार्टीको उपाध्यक्ष बने । नेहरू-गान्धी परिवारको नेतृत्वमा काङ्ग्रेस पार्टीले भारतमा पाँच दशकभन्दा बढी समय शासन गरेको छ ।
उक्त दलको प्रभुत्व सन् २०१४ मा भाजपाले हराएर सत्ता आफ्नो हातमा लिएपछि मात्र सकिएको हो । मोदीले गान्धीलाई वंशवादी राजनीति गरेको आरोप लगाउँछन् र उनलाई प्राय: ‘शाहजादा’ भनेर कटाक्ष गर्छन् ।
खिसीटिउरी
सन् २०१४ पछि गान्धी पार्टीका धेरै गतिविधिमा उपस्थित हुन र काङ्ग्रेसको नेताका रूपमा चिनिन थालेका हुन् । सन् २०१७ मा उनी आधिकारिक रूपमा काङ्ग्रेस पार्टीको अध्यक्ष बने । सन् २०१४ मा काङ्ग्रेस इतिहासकै सबैभन्दा लज्जास्पद हार बेहोर्दै ५४३ सीटको लोकसभामा ४४ सीमित हुँदा उनलाई भाजपाले निकै खिसीटिउरी गर्यो ।
उनलाई सामाजिक सञ्जालमा ‘ट्रोल’ गर्नेहरूले “पप्पु” भनेर सम्बोधन गर्न थाले । हिन्दी भाषामा सानो बालकलाई हेपेर “पप्पु” भन्ने सम्बोधन गर्ने गरिन्छ वा त्यसको अर्थ मूर्ख व्यक्ति भन्ने पनि हुन सक्छ ।
खस्किँदो अवस्था
काङ्ग्रेसका लागि सन् २०१४ र २०१९ का निर्वाचनको परिणाम दुःखद रह्यो । सन् २०१९ मा काङ्ग्रेस केवल ५२ सीटमा मात्र विजयी भयो । गान्धीले उक्त हारका लागि जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका थिए ।
गान्धी परिवारको पुरानो क्षेत्र उत्तर प्रदेशको अमेठीबाट उनी आफैँ पनि पराजित भएका थिए । तर भारतको कानुनअनुसार एकै उम्मेदवारले दुई क्षेत्रबाट चुनाव लड्न पाउने भएकाले उनले दक्षिणी राज्य केरलाबाट जितेर सांसद बनेका थिए ।
गान्धी अहिले आधिकारिक रूपमा कांग्रेसको शीर्ष नेतृत्वमा छैनन् । तर पनि उनी यो निर्वाचनमा धेरै खटे । यस पटक पनि उनी केरलाको वायानड र उत्तर प्रदेशको रायबरेली निर्वाचन क्षेत्रबाट चुनाव लडेका थिए र दुवै क्षेत्रमा उनी निर्वाचित भइसकेका छन् ।
यस वर्षको संसदीय निर्वाचन अभियानका क्रममा उनले कडा भाषणहरू गरे, र्यालीहरूमा सहभागी बने र पार्टीका समर्थक एवं कार्यकर्ताहरूसँग भेटघाट तथा छलफल गरे । उनी अन्य देशहरूमा पनि गए र त्यहाँका प्रतिष्ठित विश्वविद्यालयहरूमा मन्तव्य दिए । विभिन्न देशहरूमा रहेका भारतीय समुदायसँग भेटघाटका लागि उनले कैयौँ पटक यात्रा गरे ।
यात्रा
सन् २०२४ को ज्यानुअरीमा भारतभरिको ६,७०० किलोमिटर लामो “भारत जोडो न्याययात्रा” सुरु गरेका थिए । पूर्वोत्तर भारतको मणिपुर राज्यको राजधानी इम्फालबाट सुरु भएको उक्त यात्रा मुम्बईमा पुगेर अन्त्य भएको थियो ।
गान्धीले एक वर्षअघि उस्तै प्रकृतिको “भारत जोडो” यात्रा पनि गरेका थिए । चार हजार किलोमिटर लामो उक्त यात्रा उनले भारतको सबैभन्दा दक्षिणी क्षेत्र कन्याकुमारीबाट सुरु गरेर सबैभन्दा उत्तरी क्षेत्र कश्मीर पुर्याएर टुङ्ग्याएका थिए ।
केही विश्लेषक र समर्थकहरू उक्त यात्राले पार्टीलाई नयाँ जीवन दिएको र गान्धीको छवि पनि सुधार गरेको ठान्छन् । तर विश्लेषकहरू त्यो यात्राले धेरै मतदातालाई प्रभावित पार्ने र उक्त दलले धेरै सीट जित्नेमा विश्वस्त हुन सकेका थिएनन् ।
जेल हुने फैसला
गत वर्ष गान्धीलाई मानहानिसम्बन्धी एउटा मुद्दामा दुई वर्षको जेल सजाय सुनाइएको थियो । उनलाई गुजरात राज्यको एउटा अदालतले सन् २०१९ मा प्रधानमन्त्री नरेन्द्र मोदीको थरलाई लिएर चुनावी र्यालीमा दिएको प्रतिक्रियाका सन्दर्भमा दोषी ठहर गर्दै त्यस्तो सजाय सुनाएको थियो ।
आफूमाथि लगाइएको उक्त आरोप राजनीतिक रूपमा अभिप्रेरित भएको गान्धीको दाबी छ । त्यसलाई चुनावअघि योजनाबद्ध रूपमा अघि बढाइएको उनी बताउँछन् । सरकारले भने त्यसलाई अस्वीकार गर्दै आएको छ । हाल उनलाई दिइएको सजाय कार्यान्वयनमा सर्वोच्च अदालतले रोक लगाइदिएको छ ।






