सर्लाही । सर्लाहीमा प्रहरीले १६ क्विन्टलभन्दा बढी लागूऔषध गाँजा बरामद गरेको छ । खानतलासी गर्दा उक्त परिमाणमा गाँजा बरामद गरिएको सर्लाही प्रहरीले जनाएको छ ।
सर्लाहीको केही भागमा लागूऔषध गाँजाको उत्पादन, प्रशोधन, भण्डारण र विक्री वितरण भइरहेको गोप्य सूचनाको आधारमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाम, लागूऔषध नियन्त्रण व्यूरो जनकपुर शाखाको समन्वयमा जिल्ला प्रहरी कार्यालय सर्लाही, इलाका प्रहरी कार्यालय लालबन्दी र सशस्त्र प्रहरी बल, नेपालको नं. १० गण सर्लाहीको संयुक्त टोलीले १६ क्विन्टल १२ केजी ८५० ग्राम गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
बुधबार अपरान्ह साढे ४ बजेको समयमा लालबन्दी नगरपालिका १४ डाईनि खोला भन्दामाथी लङ्गुर डाँडामा दुई वटा दुई तल्ले घरमा खान तलासी गर्दा उक्त परिमाणमा गाँजा बरामद गरिएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार सो घरको प्रत्येक कोठाहरु तलासी गर्दा टिनको ड्रमहरु र प्लाष्टिकको बोराहरु राखिएको गाँजा बरामद गरिएको हो । प्रहरीले पानीको ड्रम, शौचालय लगायतको स्थानबाट गाँजा बरामद गरेको हो । यस्तै, उक्त घरभन्दा अन्दाजी सय मिटर उत्तर लागूऔषध गाँजा च्याप्ने मेसिन समेत फेला परेको प्रवक्ता श्रेष्ठले बताए ।
नेपाल प्रहरीको तर्फबाट प्रहरी उपरीक्षकको कमाण्डमा ८० जना र सशस्त्र प्रहरीको प्रहरी नायव उपरीक्षकको कमाण्डमा ४५ जना प्रहरी खटेर उक्ता गाँजा बरामद गरेको हो । घर कसको रहेको त्यो अहिले नखुलेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।




