जनकपुर । मधेस प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रदेशसभा बैठकमा प्रस्तुत भएको छ । संविधानको धारा १८४ को उपधारा २ बमोजिम सरकारका तर्फबाट मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।
नीति तथा कार्यक्रममा प्रदेश समृद्धिका लागि ठुलो सङ्ख्यामा पर्यटक भित्र्याउने योजना समेटिएको छ । साथै जानकी मन्दिरलाई विश्व सम्पदाको सूचीमा पार्न पहल गरिने पनि कार्यक्रममा उल्लेख छ । यस्तै सरकारले नीति तथा कार्यक्रममा सहिद राम मनोहर यादवको पार्क निर्माण गर्ने घोषणा पनि गरेको छ ।
यस्तै, मधेसका १३६ पालिकालाई लक्षित गरी नमुना कृषि विकास समूह सहकारी वा कृषि साझेदारीमा एक पालिका एक कृषि उत्कृष्टता केन्द्र तयार गर्ने, मधेस प्रदेशका प्रत्येक जिल्लामा नमुनाको रुपमा १/१ वटा खुला शैक्षिक पार्क निर्माण गर्ने, प्रदेशको तथ्याङ्कलाई भरपर्दो र विश्वासिलो बनाउन डिजिटल तथ्याङ्क बैंक स्थापन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
वैदेशिक लगानी भित्र्याउनका लागि मधेस प्रदेश लगानी सम्मेलन गरिने नीति लिइएको छ । प्रदेशमा महिला हिंसा नियन्त्रण गर्न कानून निर्माणका साथै हिंसामा संलग्नमाथि कडा कानुनी कारबाहीका साथै पाठ्यक्रममा महिला हिंसाको विषयहरु समावेश गर्दै महिला हिंसा नियन्त्रणका लागि अन्य प्रवर्द्धनात्मक कार्यक्रमहरु सञ्चालन गरिने नीति लिइएको हो ।
नीति तथा कार्यक्रममा कृषि बालीमा चक्लाबन्दी व्यवस्था लागु गर्ने र कृषिलाई यान्त्रिकीकरण गर्ने एवं कृषि समूहलाई प्रोत्साहन गर्ने नीति लिने पनि कार्यक्रममा समावेश छ । २२५ बुँदे नीति तथा कार्यक्रममा कृषि, सिँचाइ, खानेपानी, मल, सडक, शिक्षा, स्वास्थ्य, पर्यटन लगायतका विषयलाई प्राथमिकतामा राखिएको छ ।




