काठमाडौं । कन्सलटेन्सीको नाममा विदेश पठाउने भन्दै करोडौं ठगी गर्ने सञ्चालक पक्राउ परेका छन् । सामाजिक सञ्जालमार्फत विज्ञापन गरेर युरोपका विभिन्न मुलुकहरूमा आकर्षक तलबको प्रलोभन देखाएर एक हजार भन्दा बढी ब्यक्तिबाट करोडौं ठगी गर्ने ६ जना कन्सलटेन्सी सञ्चालकलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सुर्खेत घर भई हाल कोटेश्वर बस्ने २७ वर्षीय रेशम रावल, मोरङ घर भई कोटेश्वरको नरेफाट बस्ने ३५ वर्षीय सन्तविर घिमिरे, सुर्खेत घर भई कोटेश्वर बस्ने २४ वर्षीय प्रेमबहादुर रावल, डडेलधुरा घर भई कोटेश्वर बस्ने २६ वर्षीय राजेश साउद, काभ्रेपलाञ्चोक घर भई धुम्बाराही बस्ने ३० वर्षीय सुरेन्द्र तामाङ र रामेछाप घर भई कोटेश्वर बस्ने २५ वर्षीय टंकराज खनाल रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनीहरूले फेसबुक, वाट्स एप र टिकटकमा वैदेशिक रोजगारको झुटो विज्ञापन बुस्ट गरेर सर्वसाधारणलाई ठगी गर्दै आएका थिए । उनीहरूले पोल्याण्ड, पोर्चुगल, फ्रान्स, माल्टा, रोमानिया, क्रोएसिया लगायतका देशमा पठाइदिने भन्दै एक हजार बढीलाई ठगी गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।
उनीहरूले नागरिकता, सक्कल राहदानी, शैक्षिक प्रमाणपत्र लिएर प्रतिव्यक्ति ३५ हजारसम्म असुली गर्ने तर रसिद भने १७ हजार ६ सयको मात्र दिने गरेका थिए । यस्तै सक्कल डकुमेन्ट फिर्ता लिन उनीहरूले डेढदेखि २ लाखसम्म असुल्ने गरेको देखिएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार उनीहरूले साढे २ करोड बढी ठगी गरेका छन् ।




