काठमाडौं । उमेर नै नपुगेको व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता (वृद्धाभत्ता) प्राप्त गर्ने लाभग्राही सूचीमा राखेको आरोपमा वडाध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मोरङको रतुवामाइ नगरपालिका ६ का वडाध्यक्ष तुलाराम लुइँटेलसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
वडाध्यक्ष लुइँटेलसहित तत्कालीन वडासचिव कल्पना बास्कोटा, ईलाका प्रशासन कार्यालय रंगेली, मोरङका तत्कालीन प्रशासकीय अधिकृत सुनिल पौडेल र सोही कार्यालयका तत्कालीन नासु रमेश कोइराला तथा रतुवामाई ६ का मेगदिप पोखरेल, तारा देवी पोखरेल र भक्त कुमारी लुइँटेल रहेका छन् ।
वडाध्यक्ष लुइँटेलको मिलेमतोमा नागरिकताको विवरण किर्ते गरी सामाजिक सुरक्षा भत्ता वितरण गरेको भन्ने उजुरी परेको थियो । अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार अनुसन्धानका क्रममा वडाध्यक्षको मिलेमतोमा उमेर नै नपुगेका व्यक्तिहरूलाई उमेर सच्याएर सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको सूचीमा राखिएको थियो ।
त्यस्तै उमेर बढाउन नागरिकताको प्रतिलिपि लिनका लागि वडाले जन्ममिति परिवर्तन गरेर सिफारिस समेत गरेको समेत अख्तियारले भेटेको छ । वडाले उमेर बढाइएको नागरिकताको प्रतिलिपि दिन लेखेको सिफारिस इलाका प्रशासन कार्यालयले विवरणहरू जाँच नै नगरी प्रतिलिपि दिएको भेटिएको प्रवक्ता घिमिरेले जानकारी दिए ।
अख्तियारका अनुसार वडाध्यक्ष लुइँटेलविरूद्ध १ लाख ६० हजार रूपैयाँ, वडासचिव बास्कोटाविरूद्ध १ लाख ४४ हजार रूपैयाँ मागदाबी गरिएको छ । साथै, मेगदीप र तारादेवी विरूद्ध १ लाख ४४ हजार र कुमारी लुइँटेलविरूद्ध १६ हजार रूपैयाँ बिगो दाबी गरिएको अख्तियारले जनाएको छ ।




