महोत्तरी । सर्पको राजधानी भनेर चिनिने बर्दिवास नगरपालिका ३ मा सर्पदंशको नि:शुल्क उपचार गरिने भएको छ । सर्पले डसेमा वडा नम्बर ३ का नागरिकको नि:शुल्क उपचार गरिने वडाध्यक्ष विराट विष्टले बताए ।
सोमबार गौरिडाडास्थित सर्पदंश उपचार केन्द्रमा आयोजित एक कार्यक्रममा बोल्दै वडाध्यक्ष विष्टले पैसा अभावमा कोही नगरवासी उपचारबाट बन्चित नहुने उनले बताए ।
सोही कार्यक्रममा प्रारम्भिक चरणमा ३० हजार बराबरको औषधि र स्वास्थ्य सामाग्री समेत वितरण गरिएको छ । वडावासीको चाहना बमोजिम सर्पदंश उपचार नि:शुल्क गरिएको उनको भनाई छ ।
सर्पदंश उपचार केन्द्रका अध्यक्ष कृष्ण देवकोटाले अध्यक्ष विष्टले गरेको निर्णय निक्कै सकारात्मक भएको बताउँदै अन्य वडाले पनि यसबाट सिक्नुपर्ने धारणा राखे । वडा नम्बर ३ मा मात्र झण्डै १३ हजार मानिस बसोबास गर्छन् ।




