बारा । निजगढ नगरपालिका १२ रामथलीमा एक जना पुरुष सोमबार राति खुकुरी प्रहारबाट गम्भीर घाइते भएका छन् । घाइते हुनेमा ३८ वर्षीय भीमलाल गोले रहेको इलाका प्रहरी कार्यालय, निजगढले जनाएको छ ।
घाइते गोले एक्लै आफ्नै घरको झ्याल नजिकै खाटमा सुतिरहेको अवस्थामा राति करिव १२ बजे अज्ञात व्यक्तिले खुकुरी प्रहार गर्दा घाँटी, टाउको र हातमा गहिरो चोट लागेपछि उनले चिच्याउँदै गुहार मागेपछि घटनामा संलग्न व्यक्ति तत्कालै भाग्दा उनको ज्यान जोगिन पुगेको स्थानीयहरूले बताएका छन् ।
उनले चिच्याएर गुहार मागेसँगै आसपासका छिमेकीहरू घटनास्थलमा पुगेका र रगताम्य भएका उनलाई राति नै उपचारको लागि हेटौंडास्थित चुरे हिल अस्पतालमा पु–याइ उपचार भइरहेको वडाध्यक्ष ज्ञानबहादुर गोलेले बताए ।
घटनाको जानकारी हुनासाथ रतनपुर अस्थायी प्रहरी चौकी र इलाका प्रहरी कार्यालय, निजगढमा आफूले खबर गरेपछि राति नै प्रहरी टोली घटनास्थलमा आएर अनुसन्धान सुरू गरेको वडाध्यक्ष गोलेले बताए ।
सो घटनामा संलग्न भएको आशङ्कामा इप्रका, निजगढले उनका छिमेकी एक पुरुषलाई मंगलबार बिहान नियन्त्रणमा लिई सोधपुछ गरेपछि घाइते गोलेमाथि खुकुरी प्रहार गर्ने व्यक्तिको पहिचान खुलेको र निजको खोजी कार्यमा प्रहरी जुटिसकेको प्रहरी निरीक्षक सुमित कुशवाहाले जानकारी दिए ।
घटनास्थलबाट करिव तीन सय मिटर आसपासमा रहेको एक विद्यालयको मैदानमा ग २४ प ७०४६ नम्बरको मोटरसाइकल, टोपी, तीन थान मोबाइल बरामद भएको प्रनि कुशवाहाले बताए ।
घटनामा संलग्न भनिएको सो व्यक्तिको घर रौतहटस्थित जङ्गलसैयामा रहेको र उनी तीन चार वर्ष पहिलेदेखि नै गाउँघरमा सिरक, डसना बनाउने र पछिल्लो समय मोटरसाइकलमा कपडा बिक्री गर्दै आइरहेका स्थानीय स्रोतले जनाएको छ ।
घाइते गोलेको घर नजिकैको एक स्थानीयसँग घटनामा संलग्न सो व्यक्तिले मितको साइनो लगाइ बास बस्दै आएको बुझिएको छ । घाइतेको अवस्था अहिले खतरामुक्त रहेको इप्रका, निजगढले जनाएको छ ।




