बारा । निजगढ नगरपालिकाको १४ औं नगरसभा सोमबार सम्पन्न भएको छ । निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरीले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ‘समृद्ध निजगढ नगर, सुखी नगरवासी’ बनाउने लक्ष्यसहित समृद्ध, समतामूलक, स्वच्छ, हराभरा र विकसित नगरपालिका बनाउने योजना रहेको बताए ।
उनले अत्याधुनिक प्रविधियुक्त कृषि प्रणालीमा आधारित नगदेबाली तथा पशुपालन व्यवसायको विस्तार गरी रोजगारको अवसर सिर्जना गर्ने, शैक्षिक क्षेत्रको विकास र गुणस्तर सुधारका लागि विद्यालय उमेरका बालबालिकाहरूलाई विद्यालयमा ल्याउने, सीपमूलक र रोजगारमूलक शिक्षामा जोड दिने, ‘समृद्ध नगरको आधार, स्वास्थ्य क्षेत्रमा क्रमिक विकास’ नारा तय गरी स्वास्थ्य सेवालाई सबैको पहुँच र नागरिकको मौलिक हकको सुनिश्चितता गर्न ‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’ र ‘मेयरसँग ज्येष्ठ नागरिक विशेष स्वास्थ्य कार्यक्रम’लाई निरन्तरता दिने बताए ।
उनले नगरवासीलाई स्वस्थ एवम् निरोगी बनाउन योग, ध्यान र प्राकृतिक चिकित्सा पद्धतिको अनुसरण गर्न प्रोत्साहित गर्ने, खानेपानी तथा सरसफाइमा विशेष जोड दिई वृहत् खानेपानी तथा सरसफाइ आयोजना लागू गर्ने जनाउँदै निजगढ नपाका वडा नं. १, २, ३ साबिक भरतगंजसिंगौल र वडा नं १०, ११, १२, १३ साबिक रतनपुरमा दैनिक खानेपानी र सिंचाइको अवस्थामा सुधार गर्दै खानेपानी र सिंचाइको व्यवस्था गर्ने बताए ।
उनले युवा तथा खेलकूद विकासतर्फ ध्यान दिंदै नगरभित्र रहेका क्लब तथा युवा समूहहरूलाई प्रोत्साहन गर्ने, तेक्वान्दो, फूटबल, भलिबल, एथलेटिक, क्रिकेट लगायत खेलको विकास गर्ने, शहीद हीरालाल रङ्गशाला र निजगढ ४ कछडिया टोलस्थित खेलमैदानलाई राष्ट्रियस्तरको रङ्गशाला तथा खेलकूद प्रशिक्षण केन्द्रको रूपमा विकास गर्ने बताए ।
यस्तै उनले नगरस्तरीय पर्यटन गुरुयोजना निर्माण गर्ने, पूर्वाधार विकासमा जोड दिने, वन, वातावरण तथा हरियाली प्रवर्धन गर्ने, नगरका हरेक क्षेत्रमा फोहोरमैलाको व्यवस्थापन गर्ने, विपत्, प्रकोपको व्यवस्थापनको लागि आवश्यक सामग्री व्यवस्थापन गरी तालीम प्रदान गर्ने, सामाजिक सुरक्षा तथा घटना दर्ता, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा सामाजिक समावेशीकरण लगायतका कार्यलाई प्राथमिकतामा राखिने नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
नगरप्रमुख पुरीको अध्यक्षतामा सम्पन्न नगरसभामा उपप्रमुख सोममाया थिङले आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै चालू र पूँजीगत खर्च तथा वित्तीय व्यवस्थापनमा सञ्चित कोषबाट खर्च गर्ने गरी ९० करोड एक लाख रुपैयाँको बजेट विनियोजन गरिएको बताइन् ।
उनले चालू आवको कुल बजेट रु ८१ करोड १९ लाख ६९ हजार अनुमान गरिएकोमा जेठ मसान्तसम्ममा रु ५८ करोड ९७ लाख २६ हजार १८३ आम्दानी भएको र रु ५१ करोड १६ लाख १५ हजार ५१३ रुपैयाँ ५६ पैसा खर्च भएको बताइन् । नीति तथा कार्यक्रम र बजेटमाथि वडाध्यक्ष, सदस्यहरूले पूर्ण सर्मथन गर्दै सर्वसम्मति रुपमा पारित गरेका थिए ।




