सिरहा । सिरहामा वनको जग्गा अतिक्रमण गरी बनाइएको घरमा डिभिजन वन कार्यालयले डोजर चलाएको छ । करिव २ वर्ष अगाडी पुर्व पश्चिम राजमार्गसँगै टासिएको करिव ४ कठ्ठा वनको जग्गा अतिक्रमण गरी बनाएको चार कोठे घरमा डिभिजन वन कार्यालय लहानले आज डोजर लगाएर घर भत्काएको हो ।
जिल्लाको गोलबजार नगरपालिका ९ चोहर्वा व्यारेक नजिक स्थानीय सत्यदेव यादवले वनको करिव करोडौंको जग्गा अतिक्रमण गरी बनाएको चार कोठे भवन वन कार्यालयले भत्काएका छन् ।
निर्माणाधिन अवस्थामै वन कार्यालयले निर्माण कार्य रोक्न मौखिक तथा लिखित अनुरोध गर्दा गर्दै निर्माण गरेको भन्दै वनको अतिक्रमण नियन्त्रण गर्ने योजना अनुसार आज घर भत्काएको डिभिजनल वन कार्यालय लाहानका अधिकृत सुजीत कुमार झाले जानकारी दिए ।
उनले वनको जमिनमा घर निर्माणकै क्रममा हामीले पटक पटक मौखिक तथा लिखित जानकारी गराउँदा गराउँदै २०७९ को निर्वाचनको समय पारेर घर निर्माण गरेको बताए । वन अधिकृत झाले भने, ‘हामीले निर्माणकै क्रममा पटक पटक मौखिक तथा लिखित सूचना गरेकै हो । उहाँले कर्मचारी निर्वाचनमा खटिएको मौका छोपेर, मतदानको दिनपारेर छत ढलान गर्नुभयो । आज हामीले सबै प्रकृया पुरा गरेर घर भत्काएका हौं ।’
उनले कार्यालयबाट १५ दिने सूचना काटेर आज नेपाल प्रहरी, सशस्त्र प्रहरीको सहयोगमा जग्गा खाली गराएको जानकारी दिए । सोही वडाका वडा अध्यक्ष सुरेन्द्र कुमार सिंहले पनि निर्माणको क्रममा आफूले लिखित र मौखिक रुपमा घर नबनाउन भनेपनि उनले अटेर गरेर घर बनाएको बताए ।
यादवको वनसँगै जोडिएको घरमा तीन तल्ले भवन रहेको छ । उनीहरुले आफ्नो अगाडीको सरकारी जमिन भएकोले आफूहरुले प्रयोग गरेको दावी गरे । उनीहरुले भने, ‘हाम्रो अगाडीको जमिन हो, अन्यले पनि प्रयोग गरिरहेका छन्, मारुती सिमेन्ट उद्योगले प्रयोग गरिरहेको छ । हामीले पनि घर बनायौं ।’
उनीहरुलाई तपाईहरुको घर हो भन्नु हुन्छ, किन भत्कायोरु भनि सोध्दा ‘मैले बोलेर घर फर्किन्छ ररु’ भन्दै प्रतिकृया दिन चाहेनन् । सिरहामा भुमाफियाहरुले राजनितिक प्रभावमा व्यापक रुपमा वनको जग्गाहरु अतिक्रमण गरेको स्थानिहरुको भनाई छ । अतिक्रमित जग्गाहरु संरक्षण गर्नुपर्ने स्थानियहरुको माग छ ।




