वीरगञ्ज । वीरगञ्ज महानगर क्षेत्रमा एक जना कालाजार र सात जना डेंगीका बिरामी भेटिएका छन् । स्वास्थ्य कार्यालय पर्साका प्रमुख डा. मुक्तिनारायण साहले वीरगञ्ज महानगर ९ रानीघाटमा बसोबास गर्दै आएकी एक जना महिलामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु काठमाडौंमा परीक्षणका क्रममा कालाजारको लक्षण देखिएको बताए ।
उनले लामो समयसम्म ज्वरो आइरहेका शङ्कास्पद विरामीलाई परीक्षणका लागि अनुरोध समेत गरेका छन् । यसैगरी पर्सामा पछिल्लो तीन महिनामा यहाँका नौ जनामा डेङ्गी भेटिएको बताए । पछिल्लो तीन महिनामा सात जना डेङ्गीका बिरामी महानगरभित्रै र अन्य दुई विरामी ठोरी गाउँपालिका र विन्ध्वासिनी गाउँपालिकामा भेटिएका हुन् ।
डेङ्गी ज्वरो लामखुट्टेको टोकाइबाट सर्ने सरुवा रोग हो । डेङ्गीको विषाणुद्वारा संक्रमित भएको पोथी लामखुट्टेले यो रोग सार्दछ । रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रमाभन्दा सहरी क्षेत्रमा बढी पाइने गरेको साहले बताए ।
कालाजार भुसुनाको टोकाइबाट सर्ने सरुवा रोग हो । भुसुनाले रोगी मानिसलाई टोकेर स्वास्थ्य मानिसलाई टोक्दा यो रोग सर्छ । यो रोग झापादेखि बारासम्म १२ जिल्लामा पाइएपनि अन्य तराईका जिल्लामा फाट्टफुट्टरुपमा देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले जनाएको छ ।




