सर्लाही । सर्लाहीको हरिपुर नगरपालिकामा मकैबारीमा महिलाको शव भेटिएको छ । हरिपुर नगरपालिका ४ हरैया गाउँका ठागा रायकी ४५ वर्षीया श्रीमती कृष्णादेवी रायको मकैबारीमा शंकास्पद अवस्थामा शव भेटिएको हो ।
शनिबार दिउँसो ४ बजेतिर घरबाट घाँस काट्न खेततिर गएकी कृष्णादेवी अबेर साँझसम्म घर नफर्केपछि घरका सदस्यहरूले खोजेका थिए । मृतक महिलाका श्रीमानसहित टोल छिमेकका मानिसहरू खोज्दै जाँदा साढे ९ बजेतिर महिलाको शव मकैबारीमा भेटिएको थियो ।
घरदेखि झन्डै साढे पाँच सय मिटर पूर्व रहेको आफ्नै मकैबारीमा महिलाको शव भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपि रवीन्द्रकुमार सिंहले मृतक महिलाको शरीरमा चोट पटक देखिएकोले घटना शंकास्पद रहेको बताएका छन् ।
मृतक महिलाको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याइएको छ । घटनाको विषयमा प्रहरीले अनुसन्धान सुरु गरिसकेको एसपि सिंहले जनाएका छन् ।




