रौतहट । रौतहटको चन्द्रनिगाहपुर–गौर खण्डस्थित स्व. शेख इद्रीश गेटबाट मंगलबार राति ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषधसहित दुई जना भारतीय नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेका छन् । उनीहरूले उक्त समान कहाँ बिक्री गर्न लैजान लागेको भन्ने खुलेको छैन ।
राति करिब ९ बजे राजपुर नगरपालिका १ स्थित स्व. शेख इद्रीश गेटअगाडि सशस्त्र प्रहरीले ना १ ज ७१०९ नम्बरको सार्वजनिक भाडाको सवारीलाई चेक गर्ने क्रममा सिटमुनि लुकाएर ल्याउँदै गरेको लागूऔषधसहित भारतीय युवकलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हजमिनियाले जनाएको छ ।
सशस्त्र प्रहरी गणका अनुसार लागूऔषध बुपरेनोरफिन इन्जेक्सन आईपी २ एमएलको २९९ पिस, प्रोमेथ्रोजिन हाइड्रोसाइड इन्जेक्सन २ एमएलको २९९ पिस र डाइजेपाम इन्जेक्सन आइपी २ एमएलका ३०० गरी ८९८ पिस बरामद भएको हो ।
लागूऔषधसहित सशस्त्रले भारत विहार सीतामढी जिल्ला बखरी गाउँ ३ का अमित कुमार र रौशन कुमारलाई पक्राउ गरेको जनाएको छ । सशस्त्र प्रहरीले पक्राउ परेको भारतीय र बरामद सामानको आवश्यक अनुसन्धान, कारबाहीका लागि बुधबार जिल्ला प्रहरी गौरलाई जिम्मा लगाएको छ ।






