रौतहट । रौतहटको गरुडा नगरपालिकाले असार २४ गतेसम्म हुने भुक्तानीलाई लक्षित गरेर कमिशन दिनेहरूको मात्र भुक्तानी गरिरहेको आरोप लागेको छ । नगरप्रमुख कन्थमणि जयसवालका छोरा शैलेश जयसवालले कमिशन लिने र कमिशन दिनेहरूको मात्र भुक्तानी गराउँदै आएको बताइएको छ ।
कार्यादेश पाएका व्यक्तिहरूले दुई वर्षदेखि गरुडा नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा लेखापाल समक्ष हारगुहार गर्दै आएपनि भुक्तानी नपाएको बताएका छन् । तर, एक महिना अगाडि मात्र कार्यादेश पाएका व्यक्तिहरूको भुक्तानी भएको ति व्यक्तीले गुनासो सुनाए ।
नगरप्रमुख जयसवालका छोरा शैलेशले भुक्तानीका लागि सबै प्रक्रिया पूरा गरेकाहरूको भुक्तानी भएको र कसैको छिटो र ढिलो नभएको बताए । तर, उनी दैनिकी नगरपालिकामा बस्ने र कमिशन दिनेहरूको मात्र भुक्तानी गराउने गरेको आरोप उनी माथि छ ।
अहिले कोलेनिकाले असार २४ गतेसम्म भुक्तानी सकेर सोको जानकारी दिन र त्यसपछि सर्भर बन्द हुने अग्रिम जानकारी गराइसकेको छ । यो अवस्थामा चालू आवको भुक्तानीमा तीव्रता आएको छ । गत सातादेखि नै कमिशन दिनेहरूको मात्र भुक्तानी भइरहेको बताइन्छ ।
करारमा नियुक्त उमेश दासमार्फत कार्यालय समय सकिएपछि चेक बनाउने र त्यसमा सम्बन्धित लेखापाल, प्रमुख प्रशासकीय अधिकृतहरू समेतको मिलेमतोमा भुक्तानी बापतको चेक हस्तान्तरण हुने गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत कुमार ठाकुर र लेखापाल सत्यनारायण सहनी नगरप्रमुखको घरमा राति जाने गरेको र यस प्रकारका अनियमित कार्यमा सघाउने गरेको बताइन्छ ।




