काठमाडौं । सप्तकोशी नदीमा निरन्तर पानीको बहाव बढेपछि अहिले खतराको संकेत रातो बत्ती बालिएको छ । शनिबार साँझ कोशी ब्यारेजमा ३ लाख ७ हजार ९२५ क्युसेक जलसतह मापन गरेको नियन्त्रण मापन केन्द्रले जानकारी दिएको छ ।
सप्तकोसी नदीको जलसतह आज यस वर्षकै सबैभन्दा उच्च मापन भएको हो । अहिले नदीको बहाव बढेसँगै कोशी ब्यारेजको ३९ वटा ढोका खोलिएका छन् । आज बिहानदेखि कोशीमा जलसतह बढ्ने क्रम सुरु भएको केन्द्रले जनाएको छ ।
पहाडी क्षेत्रमा शुक्रबारदेखि निरन्तर वर्षा भएसँगै कोशी नदीमा जलसतह उच्च भएको हो । जलसतह उच्च भएपछि कोशीमा खतराको संकेत राखिएको छ । अहिलेसम्म बाँधमा कुनै क्षति नभएको केन्द्रले जनाएको छ ।




