काठमाडौं । सरकारी सेवामा रहँदाको करिव २४ वर्षका दौडानमा एक जना अधिकृतले ४ करोडभन्दा बढी रकम गैरकानुनी रूपमा आम्दानी गरेको खुलेको छ । अख्तियार दुरुपयोग दुरुपयोग अनुसन्धानले गुणस्तर तथा नापतौल कार्यालय, वीरगञ्जमा कार्यरत तत्कालीन वरिष्ठ निरीक्षक शशीभूषणकुमार यादवको जागिर अवधिको समग्र आय र व्यय, लगानी र आर्जित सम्पत्तिको विस्तृत अध्ययन गर्दा सो तथ्य बाहिर आएको हो ।
यादवसमेत चार जनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १६ जेठ ०८० मा मुद्दा दायर गरेको थियो । उनले सार्वजनिक पदमा रहँदा अवैध रूपमा आर्जन गरेको तथा त्यसबाट बढे, बढाएको सम्पत्ति श्रीमती रिना रानी र छोराहरू विकास यादव, अविनास यादवको नाममा राखेको दाबीसहित मुद्दा दर्ता भएको थियो ।
यादव २०४६ साल जेठ ८ गते सरकारी सेवामा प्रवेश गरेका थिए । गत असारसम्ममा यादवको कुल खर्च एवम् लगानी ७ करोड २४ लाख ५६ हजार २ सय ६३ रुपैयाँ १२ पैसा खर्च रहेको पाइएको छ । जबकि, यादवको वैधानिक आय २ करोड ७७ लाख २२ हजार ५० रुपैयाँ ४६ पैसा हुनुपर्ने आयोगको अनुसन्धानले देखाएको छ ।
निजको आयस्रोत र आर्जन गरेको सम्पत्ति बीच तादात्म्यता देखिन नआई ४ करोड ४७ लाख ३४ हजार २ सय १२ रुपैयाँ २६ पैसा बराबर सम्पत्ति ऋणात्मक देखिई वैधानिक स्रोत पुष्टि हुन सकेको छैन ।
विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले यस मुद्दामा फैसला गरेको हो । उक्त इजलासले यादवलाई ६ महिना कैद तथा बिगो बमोजिम जरिवाना र बिगो बराबरको सम्पत्ति जफत हुने फैसला गरेको छ ।




