विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा युवतीहरुले नै संगठित रुपमा वेश्यावृत्तिको धन्दा चलाइरहेको तथ्य खुलेको छ । विराटनगरस्थित एक घरमा छापा मारी प्रहरीले ६ जना युवतीलाई उद्धार गरेपछि यस्तो तथ्य खुलेको हो ।
प्रहरीले उद्धार गरिएकी युवतीहरुको बयानपछि झापाकी २४ वर्षीया सन्ध्या चुँडाललाई पक्राउ गरेको छ । उनी संगठित वेश्यावृत्ति गराउने समूहको नाइके रहेको पाइएको छ ।
प्रहरीमा पीडित युवतीले दिएको बयान अनुसार राम्रो पैसा आम्दानी हुने काम लगाइदिने बहानामा ललाइफकाई ल्याएर भाडाको कोठामा बन्धक बनाएर एक संगठित गिरोहले युवतीहरूलाई जबर्जस्ती वेश्यावृत्ति गराउँदै आएको थियो ।
सोही सूचनाको आधारमा प्रहरीले विराटनगर ११ मा कोठा भाडामा लिएर विभिन्न ठाउँबाट ललाइफकाई प्रलोभनमा पारेर ल्याएका ६ जना युवतीलाई उद्धार गरेको छ । यस्तै यस्तो कार्यमा सम्लग्न झापा बिर्तामोड नगरपालिका ८ गरामनीकी २४ वर्षीया चुँडाललाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।
सो घटनापछि संगठित गिरोहले वेश्यावृत्ति गराउँदै आएको तथ्य पुष्टि भएको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार नाइके सन्ध्याको गिरोहले विराटनगरका गीत–गजल रेस्टुरेन्टहरूमा राम्रो आम्दानी हुने काममा लगाइदिने भन्दै विभिन्न स्थानबाट युवतीलाई विराटनगर ल्याउने गरेका थिए ।
विश्वासमा परेर आएपछि सो समूहले भाडाको कोठामा बन्धक बनाएर राखी वेश्यावृत्ति गर्न बाध्य पार्ने गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कोठामा बन्धक बनाएर राखेपछि सो गिराहले बन्धक बनाएका युवतीलाई मोटो रकम लिएर धाकधम्की दिँदै जबर्जस्ती वेश्यावृत्तिमा लगाउँदै आएको थियो ।
गोप्य सूचनाका आधारमा केही दिनअघि कोठामा छापा मारेर नाइके सन्ध्यालाई पक्राउ गर्नुका साथै बन्धक बनाएका युवतीको उद्धार गरी अभिभावकको जिम्मा लगाएको छ ।
डिएसपी बस्नेतले पक्राउ परेकी नाइके सन्ध्याललाई मानव बेचबिखन कसुरमा अदालतमा मुद्दा दर्ता गराएर थप अनुसन्धान भइरहेको र गिरोहमा संलग्न अन्य सदस्यको खोजी भइरहेको बताए । सन्ध्याले यही अबैध कामलाई आफ्नो पेशा बनाएको पाइएको प्रहरीको भनाई छ ।




