काठमाडौं । विराटनगरमा दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । सोमबार राति विराटनगर महानगरपालिका वडा नम्बर २ नेपाल टेलिकम नजिकै भएको ग्याङ फाइट भएको हो ।
झडपका क्रममा छुरा प्रहार हुँदा कटहरी गाउँपालिका वडा नम्बर १ महेशपुरका अन्दाजी २१ वर्षीय करण सहनीको मृत्यु भएको छ । मृतक कमातको शरीरका विभिन्न स्थानमा धारिलो हतियार प्रहार गरिएको छ ।
झडपमा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्कीले जानकारी दिए । घाइते रहेका अमर राय र विक्रम मण्डलको थप उपचारको लागि नोबेल अस्पतालमा रेफर गरिएको छ ।
प्रहरीले अहिलेसम्म घटनामा संलग्न रहेको आशंकामा ४ जनालाई पक्राउ गरी सोधपुछ गरिरहेको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




