एजेन्सी । डिफेण्डिङ च्याम्पियन अर्जेन्टिना कोपा अमेरिका २०२४ को फाइनलमा पुगेको छ । आज बिहान सेमिफाइनलमा क्यानडालाई २-० गोलले हराउँदै अर्जेन्टिनाले उपाधि भिडन्त पक्का गरेको हो ।
अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज र लियोनल मेस्सीले गोल गरे । जारी प्रतियोगितामा मेस्सीको यो पहिलो गोल हो । योसँगै अर्जेन्टिनाका लागि उनले गरेको गोल संख्या १०९ पुगेको छ ।
यसअघि भेनेजुएलाविरुद्ध उनले पेनाल्टी मिस गरेका थिए । आजको खेलमा क्यानडाविरुद्ध मेस्सीले फर्नान्डेजको पासलाई ५१ औँ मिनेटमा गोलमा परिणत गरे । त्यसअघि २२ औँ मिनेटमा जुलिएन अल्भारेजको गोलसँगै अर्जेन्टिनाले अग्रता लिएको थियो ।
भोलि बिहान सेमिफाइनलको दोस्रो खेलमा उरुग्वे र कोलम्बियाबीच प्रतिस्पर्धा हुने छ । उक्त खेल जित्ने टोलीले उपाधिका लागि अर्जेन्टिनाको सामना गर्नुपर्ने छ । पराजित भए पनि कोपा अमेरिका २०२४ क्यानडाका लागि ऐतिहासिक रह्यो । किनकि, पहिलोपल्ट कोपा अमेरिका प्रतियोगिता खेल्न पाएको क्यानडाले सेमिफाइनलसम्मको यात्रा तय गर्यो ।
सन् २००० मा कोनकाकाफ गोल्डकप जितेको पुरस्कारस्वरुप क्यानडाले २००१ मा कोपा अमेरिकाको टिकट पाएको थियो । तर, सुरक्षा चुनौतीपछि उसले प्रतियोगितामा सहभागिता जनाएन । विश्व वरियतामा क्यानडा ४८ औँ स्थानमा छ । लियोनल मेस्सी नेतृत्वको अर्जेन्टिना आजको समयमा विश्व नम्बर १ टिम हो । सन् २०२२ को विश्वकप ट्रफी पनि अर्जेन्टिनाले नै जितेको थियो ।
कोपा अमेरिका २०२४ को समूह चरणमा क्यानडाले अर्जेन्टिनासँग २–० कै हार बेहोरेको थियो । यसअघि सन् २०१० मा भएको खेलमा क्यानडामाथि अर्जेन्टिनाले ५–० को जित निकालेको थियो ।
समूह चरणमा अर्जेन्टिनासँग हारेको क्यानडाले पेरुलाई १–० गोलले हराएको थियो । पेरु सन् १९३९ र १९७५ गरी दुई पल्टको कोपा अमेरिका विजेता हो । समूह चरणमै चिलीसँग बराबरी खेलेको क्यानडाले क्वार्टरफाइनलमा ९० मिनेटसम्म बराबरीपछि पेनाल्टी सुटआउटमा भेनेजुएलामाथि ४–३ गोलको जित निकालेर सेमिफाइनलमा स्थान बनाएको हो ।
अर्जेन्टिनाले १५ पल्ट कोपा अमेरिकाको उपाधि जितेको छ । यो सबैभन्दा धेरैपल्ट जितेको उरुग्वेसँग बराबर हो । फेरि उपाधि यात्रातिर लम्किरहेको उरुग्वेले भोलि हुने सेमिफाइनलमा कोलम्बियाको चुनौती सामना गर्ने छ ।
अघिल्लो संस्करणको फाइनलमा अर्जेन्टिनासँग १-० ले हारेर उपाधि उम्काएको ब्राजिल यसपल्ट क्वार्टर फाइनलबाटै घर फर्किइसकेको छ । उसलाई लुइस स्वारेजको टिम उरुग्वेले पेनाल्टी सुटआउटमा पराजित गरेको हो ।




