जनकपुरधाम । मधेस प्रदेश सरकारको बजेटमाथि छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्ने निर्णय भएको छ । आइतबार बसेको प्रदेशसभा बैठकमा सभामुख रामचन्द्र मण्डलले बजेट सम्बन्धमा उठेको सवालमा छानबिन गर्नका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्ने निर्णय भएको सदनमा जानकारी गराए ।
उनले समिति गठनको प्रक्रिया र कार्यजिम्मेवारी निर्धारण गर्नका लागि वर्तमान मुख्यमन्त्री सतिशकुमार सिंह र निवर्तमान मुख्यमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादवलाई जिम्मा दिने निर्णय भएको जानकारी दिए ।
मधेस सरकारले आर्थिक वर्ष ८१/८२ को लागि प्रस्तुत गरेको बजेट ह्याक भएको भन्दै जसपा नेपाललगायतका दलहरुले मुख्यमन्त्रीलाई रेडबुक संशोधन गर्नुपर्ने भन्दै मुख्यमन्त्री सिंहलाई ज्ञापन पत्र समेत बुझाएका थिए । त्यसयता प्रदेशसभा बैठक जसपा नेपालका सांसदहरुले अवरुद्ध गर्दै आएका थिए ।




