रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले मानव स्वास्थ्य माथि प्रतिकूल असर पर्ने डिजे साउण्ड सिस्टम न बजाउन अनुरोध गरेको छ । जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले सूचना जारी गर्दै डिजे साउण्ड सिस्टम नबजाउन जनसमुदायलाई आग्रह गरेको हो । बेवास्ता गर्नेलाई कडा कार्वाही गर्ने चेतावनी समेत दिइएको छ ।
रौतहट जिल्लाको सार्वजनिक सडक, विद्यालय, सरकारी कार्यालय लगायत स्थानमा मानव स्वास्थ्यमा जोखिम बढ्ने गरी डिजे साउण्ड सिस्टमबाट चर्को आवाजमा अभद्र उच्चश्रीङ्खल प्रकारको संगीत बजाएको देखिएको छ । त्यस्तो गीतको कारण सामाजिक तनाव, द्वन्दको अवस्था श्रृजना गरेको छ ।
सामाजमा मानसिक तथा शारीरिक स्वास्थ्यमा समस्या उत्पन्न भएर झैझगडाको घटना बढेको, विद्यार्थीको पठनपाठन, सरकारी कार्यालयको कामकाजमा असर परेको र ध्वनि प्रदुषणले जनस्वास्थ्यमा प्रतिकूल असर परेको पटक पटक गुनासो आएको हुँदा डिजे साउण्ड सिस्टम न बजाउन प्रहरीले अनुरोध गरेको छ ।
डिजेको ध्वनिबाट महिला, पुरुष, वृद्धवृद्धा, गर्भवती, बालबालिकाको स्वास्थमा समेत गम्भीर असर परेको हुँदा सबै सचेत रहन आग्रह गरिएको छ । आग्रहको बेवास्ता गरेको पाइएमा कानुन अनुसार डिजे सहितको सामान जफत गरी कडा कार्वाही गरिने छ ।
वातावरण संरक्षण एन २०७६ को परिच्छेद ३ को दफा १५ को उप दफा १ बमोजिम डिजे बजाउनेलाई न्यूनतम ५ लाखदेखि अधिकतम ५० लाखसम्म जरिवाना तथा क्षतिपूर्तिको व्यवस्था रहेको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रवक्ता तथा डिएसपी एलिजा गिरीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।




