रौतहट । रौतहटको उतरिभेग गुजरा नगरपालिकाकी एक दलित बालिका माथि सामूहिक बलात्कार घटनामा लामो रस्साकस्सी पछि प्रहरीकोमा पुगेको छ । घटनापछि केहि स्थानिय जनप्रतिनिधिले लेनदेनको भरमा मुद्दा मिलाउने चलखेल गरेको कारण घटना भएको २२ दिनपछि मात्र मुद्दा दर्ता भएको हो ।
गुजारा नगरपालिकाकी उपमेयर रत्ना लामाको पहल र जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा आरोपीहरु विरुद्द ईलाका प्रहरी कार्यालय गरुडामा गत ७ गते मुद्दा दर्ता भएको हो । पीडित र पीडक गुजराको भएपनि घटनास्थल कटहरिया भएकाले उक्त मुद्दा गरुडामा दर्ता भएको प्रहरीले जनाएको छ ।
आरोपीहरु गुजरा ४ कनकपुर गाउँका शेख जफीरको छोरा वर्ष २० का शेख ईञ्जमाम, शेख बाकलको छोरा वर्ष २१ का शेख मुस्ताक र रामचन्द्र दास तत्माको छोरा वर्ष २५ का दीपेन्द्र कुमार दास विरुद्द जबरजस्ती करणीको मुद्दा दर्ता भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताइन् ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण समेत भएर आवश्यक कार्वाही प्रक्रिया अगाडी बढाईनुका साथै घटना बारे थप अनुसन्धान भइरहेको प्रवक्ता गिरीले जानकारी दिइन् । घटना विवरण अनुसार आरोपी मध्ये एक जनाले गुजरा ४ कनकपुर गाउँकी १७ वर्षिया एक दलित बालिकालाई विभिन्न प्रलोभन दिई ललाई फकाई गत असार १५ गते दिउँसो कटहरिया २ कनकपुर जमुनिया गाउँ बीचको चौरमा लगेका थिए ।
पहिलैदेखि त्यहाँ लुकि बसेका अन्य दुई आरोपी सहित तीनै जनाले बलपूर्वक बालिकालाई पालै पालो बलात्कार गरी मोबाईल फोनबाट भिडियो समेत बनाएका थिए । घटनाको बारेमा पीडित बालिकाले आफ्नो परिवारमा जानकारी गराएपछि स्थानिय निकायका केहि जनप्रतिनिधि र केही राजनीतिक दलका नेताहरुले उसको परिवारमाथि दिएको दवाबको कारण घटना बाहिर आउन सकेन ।
भित्रभित्रै लेनदेनको भरमा सामूहिक बलात्कार जस्तो जघन्य अपराधलाई मिलाउने चलखेल सुरु भएको थियो । पीडित परिवारमाथि दिएको विभिन्न धाक धम्कीको कारण उनीहरू प्रहरी सामु पनि जानसकेका थिएनन् ।
घटनाको २० दिनपछि गुजरा नगरपालिकाकी उपमेयर रत्ना लामा घटना बारे जानकारी पाएर पीडितको घरमा पुगेर उनीहरूलाई हौसला दिंदै घटना बारे एसपी घिमिरेलाई जानकारी गराएकी थिइन् । लगत्तै पीडित परिवारले पीडक विरुद्द ईलाका प्रहरी कार्यालय गरुडामा लिखित जाहेरी दिइन् ।
जाहेरीसँगै एसपी दिलीप घिमिरे, ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी रामेश्वर त्वाती, ईलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख इन्स्पेक्टर ईन्द्र मणि अधिकारी आफै फिल्डमा खटेर कानुनी कारवाही प्रक्रिया अगाडी बढाएको गुजराकी उपमेयर लामाले जानकारी दिइन् ।
एसपी घिमिरेले यस्तो जघन्य अपराधलाई लेनदेनको भरमा टुंगो लगाउने कार्य आफैमा अपराध भएको बताएका छन् । उनले यस्तो कार्य गर्ने जोसुकै भएपनि कडाभन्दा कडा कार्वाही हुनुपर्ने बताए । आरोपी तीनै जना हाल फरार रहेकाले उनीहरूको खोजी तथा घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।




