वीरगञ्ज । अवैध रुपमा भन्सार छली ल्याएको भारतीय मल प्रहरीले वीरगञ्जबाट बरामद गरेको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका १६ माइदिया पोखरीस्थित एक घरमा भण्डारण गरी राखिएको मल बरामद गरेको हो ।
भन्सार छलीको २६ हजार २५० रुपैयाँ मूल्य बराबरको भारतीय मल बरामद गरी आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको पर्साका प्रहरी प्रवक्ता डिएसपी दिपक भारतीले जानकारी दिए ।
यस्तै, पर्साको बिन्दबासिनी गाउँपालिकाबाट तस्करी गरी भारतबाट ल्याइएको कुखुराको चल्ला प्रहरीले बरामद गरेको छ । गाउँपालिकाको वडा नम्बर ३ छठीया घाटस्थित सडकखण्डबाट १३ कार्टुनमा रहेका १ हजार ४ सय चल्ला प्रहरीले बरामद गरेको थियो ।
प्रहरीलाई देखेपछि तस्कर भने फरार भएको प्रहरीले जनाएको छ । बरामद गरिएको चल्लालाई पशु क्वारेन्टाइन चेकपोष्ट सिर्सियाले नष्ट गरेको पर्सा प्रहरीले जानकारी दिएको छ ।




