सिरहा । पछिल्लो समय स्थानीय तहमा बेथिती व्यापक रुपमा मौलाएको छ । स्थानीय तहको जनप्रतिनिधी र कर्मचारीको मिलेमत्तोमा स्थानीय तहमा हुने बेथिती आफैमा अत्यासलाग्दो छ । यसको सानो उदाहरण हो, सिरहाको अर्नमा गाउँ पालिका । यो पलिकाले योजनाहरुको काम सम्पन्न नै नगरी रकम निकासा दिएको छ ।
पालिका अध्यक्ष र प्रशासकीय अधिकृतले कानुन विपरित योजनाका कामहरु सम्पन्न नै नगरी आफ्नो आफन्तले गरेको कामको आर्थिक सेटिङमा रकम भुक्तानी गरेको रहस्य खुलेको हो । मिलेमतोमा भवनको छत ढलान हुनुअघि नै फर्जि मूल्याङ्कन गरेर रकम निकासा गरेको स्रोतको दावी छ ।
तराई मधेश समृद्धि कार्यक्रम र गाउँपालिकाको साझेदारीमा वडा नम्बर ३ मा पसल सञ्चालन गर्न मिल्ने ८ कोठे सटर भवन निर्माणको लागि ३४ लाख रकम विनियोजन गरिएको थियो । यो भवन निर्माण गर्न नामको लागि मात्र उपभोक्ता समित गठन भएको थियो ।
भवनको पिलर, वाल र छत ढलानको काम सम्पन्न गरी निकासा लिईसक्दा पनि उपभोक्ता समितिका अध्यक्ष सिमल देवी सदायले जानकारी नपाउनुले नामको लागि मात्र समिति गठन भएको पुष्टि गर्छ ।
यस काममा कति रकम निकासा भयो, निकासा कसले लियो भन्ने उपभोक्ता समित अध्यक्ष सदायलाई कुनै जानकारी छैन । उनी भन्छन्, ‘अफिसमै मिटीङ भएको थियो, मलाई पनि समितिमा राखेको रहेछ । निर्माणका सम्पूर्ण काम गरिरहेका नविन यादवले घरमै आएर चेकमा सहि लगाएर लग्यो । म अक्षर नचिन्ने मान्छे के लेखिएको थियो केहि थाहा छैन ।’
सोही वडाका वडा अध्यक्ष महेश यादवले निमार्णका सम्पूर्ण काम नविन यादवले गरेको स्विकार गरेका छन् । उनले, ‘उपभोक्ता समितिमा जो कोही भएपनि काम नविन यादवले गरेको हो, काम पनि राम्रो भएको छ ।’ उनले वर्षाका कारण छत ढलानको काम असार २३ गते राति सम्पन्न भयो । अझै केहि काम बाँकी रहेको छ । बाँकी कामको रकम कार्यालय प्रमुखले होल्ड गरेर राखेको उनले बताए ।
अर्नामा गाँउपालिकामा जनप्रतिनिधि तथा कर्मचारीहरुले रकम हिनामिना गर्नकै लागि गाँउघरका निमुखा, गरिब, दलित र कमजोर वर्गका व्यक्तिलाई नामकै लागि उपभोक्ता समितिमा राखेर काम आफै वा आफन्तहरु लगाएर गराउने गरेको स्रोतको दावी छ ।
यता प्रमुख प्रशासकीय अधिकृत द्रोपती कुमारी यादवले निर्माणको सम्पूर्ण काम उपभोक्ता समितिले गरेको दावी गरिन । उनले भनिन्, ‘मैले बुझेसम्म भवनको काम उपभोक्ता समितिले गरेको हो । उपभोक्ता समितिले ठेकेदारलाई दिएर काम गराएको भए मलाई जानकारी भएन ।’
उनले कामको मूल्याङ्कनको आधारमा २२ लाख रुपैयाँमात्र निकाशा भएको जनाउँदै अरु थप जानकारी चाहिए कार्यालयमा आउनुस् भन्दै फोन काटे । सटर भवन निमार्णको लागि सोही वडाका सिमल देवी सदायलाई उपभोक्ता समितिको अध्यक्षको रुपमा खडा गरी काम भने जनप्रतिनिधिकै आफन्त पर्ने नविन यादवले गराएको स्थानियहरुको आरोप छ ।




