काठमाडौं । प्रभु बैंकमा राखिएको करोडौं बचत बैंककै कर्मचारीले झिकेर फरार भएको पाइएको छ । झापा बिर्तामोडस्थित प्रभु बैंकको शाखा कार्यालयबाट मञ्जुकुमारी नेपालको सवा करोड बढी रकम गायब भएको हो ।
गत माघ ३ गते झापाका पत्रकार टीकाराम नेपालले अमेरिका उड्नुअघि श्रीमती मन्जु कुमारी नेपालका नाममा प्रभु बैंकको स्थानीय शाखामा १ करोड १० लाख ४३ हजार रुपैयाँ ‘फिक्स डिपोजिट’ गरेका थिए ।

मुद्दती खातामा रकम राखेको प्रमाण लिएर ढुक्क भई नेपाल दम्पती छोरा–बुहारी भेट्न अमेरिका उडे । करिब तीन महिना अमेरिकामा बिताएर हालसालै उनीहरू घर फर्किएका थिए ।
६ महिनाका लागि राखेको रकमको समयावधि सकिन लागेपछि मंगलबार नेपाल पैसा झिक्न बैंक पुगे । बैंकका कर्मचारीले जब सम्बन्धित व्यक्तिको नाम र खाता नम्बर मागेर कम्प्युटरमा ‘सर्च’ गरे, तब ६ महिनाअघि राखिएको रकम गायब थियो । त्यो देखेपछि टीकाराम छाँगाबाट खसेझैं भए ।

बैंकका मार्केटिङ म्यानेजर भद्रपुर निवासी प्रमोद सिटौलाले रकम अपचलन गरेको बैंकको दाबी छ । सिटौला बुधबार बिहानदेखि सम्पर्कविहीन छन् । बैंकका कर्मचारीकै मिलेमतोमा सिटौलाले रकम गायब पारेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । टीकारामले फरार सिटौलाविरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय झापामा जाहेरी दिएका छन् ।




