बारा । बाराको जीतपुरसिमरा उपमहानगरकापालिकामा पर्ने बालगंगा खोलाको जथाभावी उत्खनन् एवम् दोहनको असर वर्षायाममा देखा परेको छ । स्थानीय पालिकाले आन्तरिक राजस्व आर्जनको नाउँमा ठेकेदार कम्पनीलाई खोलाबाट मनपरी नदीजन्य पदार्थ उत्खनन् गर्न दिँदा बाराको राष्ट्रिय वन क्षेत्रबीचबाट बग्ने बालगंगा खोलाले वन क्षेत्रको तीव्र कटान गर्दै बोटविरुवा विनाश गरेको पाइएको छ ।
अधिकांश स्थानीय पालिकाले लगाउने खोला ठेक्कामा बेलाबेलामा प्रभावकारी अनुुगमन, निरीक्षणसँगै उचित निर्देशन र कारवाही नगर्दा ठेकेदार कम्पनीले मनपरी, दादागिरी शैलीमा प्राकृतिक स्रोत साधनको चरम उत्खनन् एवम् दोहन गर्ने गरेका छन् ।
जीतपुरसिमरा उपमहानगरपालिकाले तयार गरेको वातावरणीय प्रभाव मुल्याकंन प्रतिवेदन विपरित बालगंगा खोलामा मात्रै होइन, पसाहा र दुधौरामा पनि मनलाग्दी उत्खनन् भइरहेको छ ।
जीतपुरसिमरा उपमहानगरपालिले तयार गरेको ईआईए रिर्पोटमा खोलाको उत्खनन गर्दा एक मिटर गहिराई र खोलाको उत्खनन क्षेत्र हेरेर २० देखि अधिकतम् ५० मिटर चौडाईसम्म उत्खनन् गर्न सकिने उल्लेख छ ।
साथै प्रतिवेदनमा दैनिक उत्खनन र भण्डारणको मात्रा पनि उल्लेख छ, तर ठेकेदारले जथाभावी खाल्टा बनाएर उत्खनन् गर्दा खोला आसपासका वन क्षेत्र, वस्ती र निजगढ अन्तराष्ट्रिय विमानस्थलको तटबन्ध क्षेत्र नै उच्च जोखिममा परेको छ ।
बालगंगा खोला हलखोरिया साझेदारी वन क्षेत्रभित्र पर्दछ दुधौरा खोला बस्ती नजिकै छ । त्यसैगरी पसाहा खोलामा भएको चरम दोहनले वस्ती, वन क्षेत्र र खोलाको तटबन्ध जोखिममा परेको छ ।




