सङ्खुवासभा । नेपाल विद्युत् प्राधिकरण कार्यालय सङ्खुवासभाको शाखा कार्यालय मादीका इञ्चार्जसहित दुई जना कर्मचारी माथि कुटपिट भएको छ । विद्युत् महसुल नतिरेपछि लाइन काटेको जनाउँदै लाइन जोड्न धम्की दिँदै कर्मचारीमाथि कुटपिट भएको शाखा कार्यालयका प्रमुख शत्रुधन यादवले जानकारी दिए ।
उनका अनुसार इञ्चार्ज राजकुमार राई र प्रदीप जिमीमाथि यही साउन १५ गते कुटपिट भएको थियो । कुटपिट गरेको आरोपमा मादी नगरपालिका ४ ओखरबोटका स्थानीय लक्ष्मण लिङ्थेप र हर्कहाङ लिम्बू विरुद्ध इलाका प्रहरी कार्यालय चैनपुरमा मुद्दा दर्ता भएको कार्यालयका प्रहरी निरीक्षक बाबुराम कार्कीले जानकारी दिए ।
लिङ्थेपको क्रशर उद्योगले ६ लाख ४० रुपैयाँ बक्यौता नतिरेपछि प्राधिकरणले लाइन काटेको प्रमुख यादवले बताए । कर्मचारीमाथि कुटपिट भएपछि मादीको शाखा कार्यालय गत साउन १५ गतेदेखि बन्द छ । ६ वटा ठूला उद्योगले डेडिकेटेड र ट्रंकलाइनको प्रयोग गरेबापत् ८ अर्ब रुपैयाँभन्दा धेरै नतिरेको भन्दै विद्युत प्राधिकरणले लाइन काटेको थियो ।
तर प्रधानमन्त्री केपी शर्मा ओलीले लाइन जोड्न निर्देशन दिएपछि लाइन जोडिएको छ । यो घटनापछि देशैभरी बिजुलीको बिल नतिर्ने र लाइन काट्न गएका कर्मचारीमाथि कुटपिट भइरहेको प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङले बताए ।




