काठमाडौं । काठमाडौंको अनामनगरमा रहेको किम्चि फास्टफुडमा मिनरल वाटरको बोतलभित्र किरा भेटिएको छ । काठमाडौं महानगरको कानुन तथा मानव अधिकार विभागले किम्चि फास्टफुडमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रमका सहभागीले पानी खान खोज्दा मिनरल वाटरको बोटलभित्र किरा भेटिएको हो ।
उक्त मिनरल वाटरको बोतलमा किम्चि फास्टफुड लेबल टाँसिएको छ । महानगरकै कार्यक्रममा राखिएको मिनरल वाटरको बोतलमा किरा भेटिएपछि महानगरको खाद्य प्राविधिकसहित नगर प्रहरीलाई बोलाइएको थियो । महानगरको टोलीले उक्त बोतल सिल गरी महानगर लगेको छ ।
महानगरका खाद्य प्राविधिक अशोक पराजुलीले मिनरल वाटरको बोतलभित्र लार्भा जस्तो देखिने किरा भेटिएको पुष्टि भएको बताए । उनले उक्त बोतल महानगरमा लगेर परीक्षण गर्ने र किम्चि फास्टफुड सञ्चालकलाई स्पष्टीकरण सोधी आवश्यक कारवाही हुने बताए ।




