एजेन्सी । भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितहरुको संख्यामा फेरि बृद्धि भएको छ । पछिल्ला केही दिन लगातार घट्दै गएकोमा बिहीबार फेरि बृद्धि भएको अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट ४५ हजार ८९२ जना नयाँ संक्रमित थपिएका छन् ।
यसअघि बुधबार एक दिनमा नयाँ संक्रमितको संख्या ४३ हजार ७३३ रहेको विवरण संघीय स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको थियो । भारतमा अहिले संक्रमित अवस्थामै रहेका संक्रमितहरुको कुल संख्या भने चार लाख ६० हजार ७०४ रहेको मन्त्रालयले जनाएको छ । कुल संक्रमित मध्ये १.५ प्रतिशत मात्रै अहिले संक्रमित अवस्थामा रहेका हुन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ८१७ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । योसँगै भारतमा अहिलेसम्म कोरोना भाइरसका कारण कुल मृतकको संख्या चार लाख पाँच हजार २८ पुगेको छ । कोरोना भाइरसको महामारी फैलिएदेखि अहिलेसम्म भारतमा २ करोड ९८ लाख ४३ हजार ८२५ जना संक्रमित संक्रमणमुक्त भइसकेका छन् ।
ती मध्ये ४४ हजार २९१ जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका हुन् । भारतीय चिकित्सा अनुसन्धान परिषद्ले दिएको जानकारी अनुसार भारतमा अहिलेसम्म ४२ करोड ५२ लाख २५ हजार ८९७ पटक स्वाब परीक्षण गरिएको छ ।






