सिराहा । सिरहाको धनगढीमाई नगरपालिका जनप्रतिनिधि तथा कर्मचारीको सेटिङमा आर्थिक लाभकै लागी कानुनको धज्जी उडाउँदै ३५ दिने निकाल्नु पर्ने सूचना १५ दिनकै लागि प्रकाशन गरिएको छ । नगरपालिकाले प्रथम पटक निकालिएको सूचनामा पाँच वटा गुदरी हाट बजारका लागि २२ लाख ७५ हजार रुपैयाँको सूचना १५ दिनकै लागि आवहान गरिएको हो ।
नगरपालिकाले असार १५ गते हाट बजार ठेक्का बन्दोबस्त सम्बन्धी १५ दिने सूचना प्रकाशन गरेको छ । प्रथम पटक प्रकाशित सूचनामा धनगढी, जिरोमाईल र छपराडी बजारको न्यूनतम दर १९ लाख ७५ हजार रुपैयाँ तथा कसहा र भवानीपुर बजारको तीन लाख रुपैयाँको सूचना प्रकाशन गर्यो ।
यस सूचना अवधिमा बजार ठेक्का नलागेपछि दोस्रो पटक प्रकाशित भएको सूचना पालिकाको वेवसाइटमा देखिन्न तर, २०८१ साउन ८ गते पुन: तेस्रो पटक सूचना प्रकाशन भयो । यो सूचनामा भने पाँच वटै बजारको न्यूनतम दर एकमुस्ट ३० लाख रुपैयाँ उल्लेख भएको छ ।
सामान्यतया ठेक्का आव्हान गर्दा पहिलो, दोस्रो र तेस्रो पटक ठेक्का नलाग्दा निर्धारित रकम घटाएर सूचना प्रकाशन गर्ने प्रवधान छ । तर, यो पालिकाले प्रथम पटक प्रकाशित सूचनाभन्दा ७ लाख बढी रकम राखेर सूचना प्रकाशन गरेको छ ।
सूचना प्रकाशन गर्दा प्रथम पटक प्रकाशितभन्दा ३२ प्रतिशत बढी रकम राखेर ठेक्का आव्हान गरेको देखिन्छ । तर, जनप्रतिनिधी र कर्मचारीले आर्थिक चलखेलमा प्रथम पटक प्रकाशित सूचनाकै मूल्यमा ठेक्का सम्झौताका लागी ठेक्केदारलाई पत्र पठाएको छ ।
आम प्रचलनभन्दा ठेक्कामा बढी मूल्य देखाउनु तर ठेक्का प्रथम पटककै मूल्य अनुसार लगाउनुले आर्थिक चलखेल भएको वडाअध्यक्षहरु नै बताउँछन् । पालिकाले प्रथम पटक प्रकाशित गरेको सूचनाको १७ नम्बर बुँदामा ‘दरभाउपत्र स्वीकृत भएपछि ठेक्का बापतको कबोल अंक बढीमा दुई किस्तामा बुझाउनु पर्नेछ ।
यसरी ‘दुई किस्तामा बुझाउने भएमा पहिलो किस्ता बापत ठेक्का कबोल अंकको ६० प्रतिशत बराबर हुन आउने रकम बुझाई दोस्रो किस्ताको बाँकी ४० प्रतिशत रकम बरावरको यस कार्यालयका नाउँमा नेपाल राष्ट्र बैंकबाट मान्यता प्राप्त बैंकबाट जारी गरिएको कम्तिमा १३ महिनाको म्याद भएको जमानत पत्रको सक्कल प्रति चलन पुर्जी लिनु अगाबै पेश गर्नुपर्ने छ ।’ सूचनामा भनिएको छ ।
तर, प्रशासकीय प्रमुख राजकुमार दासले जानकी निर्माण सेवा गोलबजार नगरपालिका ८ को नाममा पठाएको ‘सम्झौता गर्न आउने बारे’को पत्रमा आफैले जारी गरेको सूचनाको उलङ्घन गर्दै ठेकेदारलाई सजिलो पार्ने गरी प्रथम किस्तामा स्वीकृत भएको सम्झौता रकमको २५ प्रतिशत चार लाख ९५ हजार ६४ रुपैयाँमात्र माग गरिएको छ ।
नगर आफैले जारी गरेको सूचनालाई लत्याउँदै ठेकेदारलाई पोस्ने काम भएको स्थानीयहरुको आरोप रहेको छ । यतिमात्र हैन अहिलेसम्म ठेकेदारले पहिलो किस्ता बुझाएको छैन । नगरबाट चलन पुर्जी लिएको छैन । तर, ठेकेदारले बजारबाट राजश्व अशुलि गरिरहेको छ । यी तमाम क्रियाकलापले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र जनप्रतिनिधीको मिलेमत्तोको पुष्टि हुने गरेको स्थानीयको आरोप छ ।
बजार ठेक्का सम्बन्धि विषयमा मेयर शिवशंकर महतोसँग जिज्ञासा राख्दा यो विषय मलाईभन्दा कर्मचारीसँग बुझ्दा राम्रो हुने बताए । यस सम्बन्धमा प्रमुख प्रशासकीय अधिकृत दाससँग प्रतिक्रिया माँग्दा उनले आर्थिक परामर्श समितिसँग छलफल गरी संशोधन पश्चात ठेक्का लगाएको बताए ।
अधिकृत दासले एउटै ठेक्काको तीन तीन पटक सूचना निकालेर नगरपालिका माथि व्ययभार थपेको स्थानियहरुको भनाई छ । यस अवैध निर्णयले नगरपालिकाको पारदर्शिता र कानुन पालना माथि गम्भीर प्रश्न उठाएको स्थानीयहरु बताउँछन् । न्यूज कारखाना




