जनकपुरधाम । धनुषा र सिरहा जिल्लालाई जोड्ने कमला नदीमा नयाँ पुल बनाउन माग गर्दै स्थानीयले सामूहिक आमरण अनशन थालेका छन् । कमलामा नयाँ पुल बनाउन माग गर्दै युवाहरुले अनशन सुरु गरेका हुन् ।
नयाँ कमला पुल निर्माण संघर्ष समिति सिरहा–धनुषाको अगुवाईमा आन्दोलित स्थानीयहरु जनकपुरधामस्थित मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन बसेका हुन् । अनशन गरेसँगै मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यसलाई युवाहरुले ‘स्टन्ट’ गरेको आरोप लगाएका छन् ।
मधेशका मुख्यमन्त्री सिंहले सरकारले कमला पुल निर्माणका लागि प्रदेश सरकार आफैँ गम्भीर रहेको समयमा युवाहरु आमरण अनशनमा बस्नुको औचित्य नरहेको प्रतिक्रिया दिए । प्रदेश सरकार आफैँ कमला पुल निर्माणका लागि द्रुत गतिमा पहल गरिरहँदा समेत सीधै आएर आमरण अनशनमा बस्नु स्टन्ट भएको आरोप उनले लगाए ।
मधेश सरकारको गत साउन ३१ गते बसेको मन्त्रिपरिषद बैठकबाट हुलाकी राजमार्ग अन्तर्गत पर्ने नयाँ कमला पुल निर्माणका लागि माग गर्ने निर्णय समेत गरिएको मुख्यमन्त्री सिंहले बताए । यस्तै उनले संघ सरकारले कमलामा पुल निर्माण नगरे प्रदेश सरकार आफैँले त्यहाँ बजेट छुट्याएर पुल निर्माण गर्न सक्छ कि सक्दैन भन्ने विषयमा समेत छलफल अगाडि बढाइएको बताए ।




