रौतहट । तलव भत्ताको माग गर्दै बाल विकास शिक्षिका र विद्यालय कर्मचारीहरुले कटहरिया नगरपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक विद्यालयमा तालाबन्दी गरेका छन् । कर्मचारी र शिक्षिकाले विद्यालय समय अगावै विद्यालयहरुको मूल गेटमा तालावन्दी गरेको कारण बुधबार पठनपाठन अवरुद्ध भएको कटहरिया १ माबी भासेढवाका प्रधानाध्यापक राम मंगल यादवले बताएका छन् ।
तालाबन्दीका कारण कटहरियाको सम्पूर्ण मावि ५ निमावि ५ र प्रावि १४ गरी २४ विद्यालयको पठनपाठन हुन नसकेको नगर शिक्षा संयोजक अनिल कुमार निधिले पुष्टी गरेका छन् । तलव भत्ताको माग गर्दै उनीहरू पछिल्लो एक महिना देखि आन्दोलित भएका छन् । जनै पूर्णिमासँगै रक्षाबन्धन पर्व परेका दिन सरकारले सार्वजनिक बिदा दिएको थियो ।
हिमालदेखि तराईसम्मका हिन्दु धर्मावलम्बीहरु आआफ्नो रिती अनुसार पर्व मनाएका थिए । तर, कटहरिया स्थित तलब भत्ताको माग गर्दै शिक्षिका तथा विधालय कर्मचारी धर्नामा बसेका थिए । हिजो मंगलबारसम्म तलब भत्ता नपाएमा आज बुधबारदेखि नगरको सम्पूर्ण सामुदायिक विद्यालय बन्द गर्ने अग्रिम घोषणासँगै प्रेस विज्ञप्ती जारी गरेका थिए ।
नेपाल विद्यालय कर्मचारी तथा बाल विकास शिक्षक युनियन नगर कार्य समितिको आयोजनामा शिक्षिका तथा विधालय कर्मचारी गत आइतबारदेखि कार्यालय समय बिहान १० देखि ४ बजेसम्म नगरपालिका प्राङ्गण भित्र धर्नामा बसेका थिए ।
सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारी र बाल विकास सहयोगी कार्यकर्ताले आर्थिक वर्ष २०७९/८० को वैशाखदेखि अषाढ मसान्तसम्मको न्यूनतम थप तलव, यस आर्थिक वर्षको वैशाखदेखि हालसम्मको तलब र प्रति महिना दुई हजारको दरले प्रोत्साहन भत्ता समेतको रकम निकासा नभएर कसैले पनि नपाएर कठिनाई भएको छ ।
कटहरिया स्थित सम्पूर्ण सामुदायिक विद्यालयहरुमा विद्यालय कर्मचारी र बाल शिक्षा सहयोगी कार्यकर्ता गरी ६४ जना कार्यरत रहेका छन् । कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश जैसवाल उपमेयर रिता देवी यादवसहित जनप्रतिनिधि कर्मचारी गरी ११ जना भ्रष्टाचार मुद्दामा अख्तियारद्वारा दोषी ठहर भएर झण्डै ३ महिना अघि निलम्बित भएपछि बाल विकास शिक्षिका तथा विधालय कर्मचारी तलब सुबिधा पाउनबाट बञ्चित भएका छन् ।
गत आर्थिक वर्षको अन्तिम महिना असारमा प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र प्रधानले चासो न लिएको कारण तलब सुविधा पाउन नसकेको उनीहरूको आरोप रहेको छ । करार तथा दैनिक ज्यालादारीको नाउँमा मेयर जैसवालले वार्षिक करोडौं रकम निकासा गराउँछन् । तर, दिन रात मिहिनेत गरेका विद्यालय कर्मचारी तथा बालविकास शिक्षिकाको तलब भत्ता निकासा गराउन मेयर जैसवालसँगै नगर शिक्षा संयोजक अनिल कुमार निधिले समेत चासो नदेखाएको पीडितहरुले गुनासो गरेका छन् ।




