पर्सा । जीराभवानी गाउँपालिका ५ की एक १९ वर्षीया किशोरीले आफू पटक पटक बलात्कारमा परेको बताएकी छन् । सोही वडाको २१ वर्षीय युवकले ललाइफकाइ ४ वर्षदेखि बलात्कार गरिरहेको आरोप उनले लगाइन् ।
यसै सन्दर्भमा जिल्ला प्रहरी कार्यालय, पर्साको महिला सेलमा किशोरीले ठाडो उजूरी दिएकी छन् । स्थानीय २१ वर्षीय प्रदीप महतो नुनियाले पटक पटक घर नजीकै एउटा झुपडीमा शारीरिक सम्बन्ध बनाउने गरेको बताउँदै उनले बिहेको लागि समेत लोभ दिएको बताइन् ।
बिहे गर्न नै गत साउन २७ गते दुवै जना गाउँबाट वीरगंज आएर युवक काम गर्ने नारायणगढस्थित कोठामा लगेको समेत बताइन् । आफूहरूको सम्बन्ध घर परिवारले थाहा पाएपछि दुवैलाई छुटाएको र मर्कामा परेपछि न्यायको लागि गुहार गर्न जिल्ला प्रहरी कार्यालयमा उजूरी गर्न आएको उनले बताइन् । प्रहरी प्रशासनले उचित न्याय देओस् भन्दै उनले माग गरिन् ।
गत साउन २७ गते वीरगंजको एउटा मन्दिरमा दुवैले विवाह गरेको किशोरीको दाबी छ । यस विषयमा जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक भारतीले उजूरी सम्बन्धमा छानबीन भइरहेको र केटा केटीको सम्बन्ध बारे कल डिटेलमार्फत अनुसन्धान भइरहेको बताए ।




