झापा । दशगजा क्षेत्रमा सडक निर्माण गर्न आएका भारतीय नागरिकलाई सशस्त्र प्रहरीका डिएसपी महेश विष्ट नेतृत्वको टोलीले त्यहाँबाट हटाएका छन् । आइतबार बिहानै घरेलु औजारसहित सडक बनाउन आएका भारतीयलाई डिएसपी विष्टले अवरोध गर्दै खदेरेका हुन् ।
घटना झापाको कचनकवल गाउँपालिका १ घेराबारीमा भएको हो, जहाँ प्रस्तावित गुल्मका प्रमुख डिएसपी विष्टले भारतीय सीमा सुरक्षा बल (एसएसबी) को संरक्षणमा सडक निर्माणको प्रयास गरिरहेका भारतीय नागरिकलाई हटाएका हुन् ।
नेपाल-भारत सीमा स्तम्भ १२४ नम्बरको उत्तरतर्फ उग्रनारायण बस्ती र दक्षिणतर्फ भारतको जोरबारी बस्ती रहेको छ । यस क्षेत्रमा, शनिबार जोरबारीका स्थानीयले एसएसबीको सहयोगमा एक सय मिटर सडक निर्माण गरेका थिए ।
आइतबार बिहान फेरि सडक निर्माण गर्न आएका भारतीय नागरिकलाई नेपाली पक्षले अवरोध गरेपछि विवाद उत्पन्न भएको थियो । डिएसपी विष्ट, उग्रनारायण बस्तीका स्थानीय, कचनकवल गाउँपालिकाका प्रतिनिधिहरू, सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रूपमा सडक निर्माणको विरोध गरेका थिए ।
विवादका क्रममा भारतीय एसएसबीका अधिकारी जेआर भाटले डिएसपी विष्टलाई धम्कीपूर्ण शब्दमा सडक निर्माणको वैधता बताउन खोजेका थिए, तर डिएसपी विष्टले दशगजा क्षेत्रमा कुनै संरचना निर्माण गर्न नदिने स्पष्ट गरे ।
विवाद समाधानका लागि, खनेको बाटो पुरानै अवस्थामा पुर्याउने सहमति भएको थियो । दुवै देशका सुरक्षाकर्मी र स्थानीयवासीको सहभागितामा खनेको सडक पुन: पुरिएको हो । विवादपछि भारतीय पक्षले सडक निर्माणको प्रयास रोक्ने निर्णय गरेको बताइएको छ ।




