वीरगंज । वीरगंज १४ स्थित गण्डक हस्पिटल प्रालिमा उपचार खर्च र औषधि बापतको करिब दुई लाख रुपैयाँ तिर्न नसकेर, वीरगंज ३१ लक्ष्मीपुरका २० वर्षीय युवक दीपलाल महतो नुनिया १० दिनदेखि अस्पतालमै अड्किएका छन् ।
गत साउन २२ गते घरमा चरा मार्न राखिएको विष खाएर गम्भीर अवस्थामा पुगेपछि उनलाई एम्बुलेन्समार्फत वीरगंजको गण्डक अस्पताल ल्याइएको थियो । एम्बुलेन्स चालकले अस्पतालमा पु¥याएपछि तुरुन्तै उनको उपचार सुरु भयो ।
लगभग नौ दिनको उपचारपछि साउन ३१ गते दीपलाललाई होश आयो । तर, चिकित्सकले डिस्चार्ज दिएपनि उपचारको खर्च तिर्न नसक्दा उनी घर फर्कन पाएका छैनन् ।
उनका बुबा सत्यनारायण महतो नुनियाले अस्पतालको र औषधि पसलको गरी करिब दुई लाख ५४ हजार रुपैयाँ खर्च भएको र आर्थिक अभावका कारण यो रकम तिर्न नसकिएको बताए । सत्यनारायणका अनुसार, यो रकममध्ये ७५ हजार रुपैयाँ आफन्तजन र चन्दा उठाएर तिरिसकिएको छ, तर बाँकी करिब पौने दुई लाख रुपैयाँ तिर्न बाँकी छ ।
नुनिया परिवार ऐलानी जग्गामा बसोबास गर्दै अर्काको खेतमा दैनिक ज्यालादारी गरी जिविकोपार्जन गर्छन् । आर्थिक अवस्था निकै कमजोर भएकाले अस्पतालले बिल नतिरेसम्म बिरामीलाई डिस्चार्ज नगरेकोले उनीहरू समस्यामा परेको उनले बताए ।
अस्पताल प्रशासन प्रमुख अकरम हुसेनले बिरामीलाई सहयोग गर्न तत्पर रहेको तर उपचारमा लागेको खर्चमा छुट मात्र दिन सकिने, मिनाहा गर्न नसकिने बताए । साथै, बिल तिर्न बाँकी भएपनि बिरामीलाई रोकिएको नभई उपचारमै रहेको जानकारी उनले दिए ।




