काठमाडौं । आईसीसी टी-२० अन्तर्राष्ट्रिय क्रिकेट ब्याटिङ वरीयतामा नेपाली खेलाडीको स्थान खस्किएको छ । हालै सार्वजनिक गरिएको सूचिमा नेपालका कप्तान रोहित पौडेल एक स्थान तल झर्दै ६१ औं स्थानमा पुगेका छन् ।
दीपेन्द्रसिंह ऐरी दुई स्थान तल झर्दै ४६ औं स्थानमा र आसिफ शेख दुई स्थान तल झर्दै ७३ औं स्थानमा पुगेका छन् । टी-२० ब्याटिङ वरीयतामा अस्ट्रेलियाका ट्राभिस हेड शीर्ष स्थानमा, भारतका सूर्यकुमार यादव दोस्रो स्थानमा र इङ्गल्यान्डका फिल साल्ट तेस्रो स्थानमा यथावत् रहेका छन् ।
टी-२० बलिङ वरीयतामा सोमपाल कामी ९३ औं स्थानमा र दीपेन्द्रसिंह ऐरी ९७ औं स्थानमा यथावत् छन् । यो सूचीमा इङ्गल्यान्डका आदिल रशिद शीर्ष स्थानमा, वेस्ट इन्डिजका अकेल होसेन दोस्रो स्थानमा र गुदाकेश मोटी तेस्रो स्थानमा पुगेका छन् ।
अलराउन्डर वरीयतामा गुल्सन झा र कुशल भुर्तेलले समान दुई स्थान सुधार गर्दै क्रमशः ६९ औं र ७० औं स्थानमा स्थान बनाएका छन् । करण केसीले एक स्थान सुधार गर्दै ७५ औं स्थानमा पुगेका छन् ।
दीपेन्द्रसिंह ऐरी सातौं, कुशल मल्ल ३७ औं र कप्तान रोहित पौडेल ५५ औं स्थानमा यथावत् छन् । यो सूचीमा अस्ट्रेलियाका मार्कस स्टोइनिस शीर्ष स्थानमा, जिम्बावेका सिकन्दर राजा दोस्रो स्थानमा र बङ्गलादेशका शाकिब अल हसन तेस्रो स्थानमा यथावत् रहेका छन् ।






