मोरङ । मोरङमा एक शिक्षकको कुटपिटबाट एक छात्रा घाइते भएकी छन् । श्री सिंहवाहिनी माध्यमिक विद्यालयका शिक्षक पवन राईले कक्षा १० मा अध्ययनरत १७ वर्षीया जस्ना राईलाई विद्यालय परिसरमै कुटपिट गरेका हुन् ।
घटनापछि घाइते छात्रालाई पथरी अस्पतालमा उपचारका लागि लगिएको छ । प्रहरीका अनुसार, छात्राको पाखुरामा चोट लागेको छ । इलाका प्रहरी कार्यालय पथरीका डिएसपी मोहनविक्रम दाहालले शिक्षक पवन राईलाई पक्राउ गरिएको जानकारी दिएका छन् ।
डिएसपी दाहालले प्लास्टिकको पाइप प्रयोग गरी शिक्षकले छात्रालाई कुटपिट गर्दा घाइते भएको पुष्टि गरेका छन् । हाल शिक्षक पवन राईमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।




