सिरहा । सिरहाको सदरमुकामसँगै जोडिएको बसबिट्टा बस्ती हरेक वर्ष थोरै वर्षामा पनि डुबानमा पर्ने समस्याबाट ग्रस्त हुँदै आएको छ । पानीको निकासको उचित व्यवस्था नहुँदा बस्तीका लगभग पाँच सय घर परिवारले यो समस्याको सामना गरिरहेका छन् ।
बस्तीको पूर्वतर्फ गत वर्ष निर्माण गरिएको पक्की सडकले डुबानको समस्या झन् विकराल बनाएको स्थानीय रामविलास यादवले बताए । “पछिल्लो वर्ष बस्तीको पूर्वतर्फ नाला निर्माण नगरी पक्की सडक बनाइएको थियो । त्यसपछि यो वर्ष सामान्य वर्षामै पूरै गाउँ डुबानमा परेको छ,” उनले भने, “कति समयसम्म यो डुबान रहिरहन्छ भन्ने टुङ्गो छैन ।”
उनले समस्याको दीर्घकालीन समाधानमा कसैले ध्यान नदिएकोमा गुनासो गरे । बस्तीको पश्चिमतर्फ कमला नदीको तटबन्ध रहेको र यसले पनि पानीको निकासमा समस्या ल्याएको अर्को स्थानीयवासी राजकुमार यादवले बताए ।
उनले भने, “एकतर्फ कमला नदीको तटबन्ध छ, अर्कोतर्फ बस्तीभन्दा अग्लो गरी पक्की सडक निर्माण गरिएको छ । यस्तो अवस्थामा पानीको निकास कहाँबाट हुन्छ ? भारी वर्षा हुँदा घरबाट बाहिर निस्कन पनि सकिँदैन । केटाकेटी र वृद्ध वृद्धाहरूलाई त झन् ठूलो जोखिम छ ।” उचित निकास नहुँदा बस्ती नै विस्थापित हुनुपर्ने अवस्था आएको उनले उल्लेख गरे ।
मुख्यत: पासमान गाउँ, महाराजा टोल, कजकलवा, यादव बस्ती लगायतका क्षेत्रमा डुबानको समस्या रहेको सिरहा नगरपालिका ६ का वडाध्यक्ष इन्द्रजित यादवले जानकारी दिए । उनले कमला तटबन्ध व्यवस्थित नभएसम्म समस्या समाधान हुन गाह्रो हुने बताए । तटबन्धमा रहेका कल्भर्ट (कजवे) बाट वर्षामा कमला नदीको बाढी उल्टो बस्तीमा पस्ने गरेको पनि अध्यक्ष यादवले बताए ।
“कमला तटबन्धमा रहेका कजवे व्यवस्थित नहुँदा यो समस्या बढिरहेको छ भने, अर्को कुरा नाली निर्माण नगरीकन पक्की सडक बनाइनु हो । पानीको निकास नहुँदा यहाँ बर्सेनि डुबानको समस्या झन् जटिल बन्दै गएको छ । वर्षा सुरु भएदेखि बस्तीभरि पानी भरिएर एक घरबाट अर्को घरमा जान पनि मुस्किल हुन्छ,” अध्यक्ष यादवले भने, “बिनानाला कुनै पनि सडक स्वीकृत हुनु हुँदैन ।”
अध्यक्ष यादवले बसबिट्टा क्षेत्रमा डुबानको मुख्य जिम्मेवार कमला सिँचाइ, सडक डिभिजन र नगरपालिकालाई ठहर गरे । अर्कातिर बजार क्षेत्रमा व्यापार गर्ने व्यवसायीहरूको संख्यामा वृद्धि भएसँगै नयाँ घर निर्माण गर्दा पानीको निकास हुने क्षेत्र मासिँदा बजार पनि जलमग्न हुन थालेको उनले बताए ।
यस कारण सदरमुकाम नजिकै रहेको बजार क्षेत्रका धेरै पसल र सडक डुबानमा पर्दा स्थानीय बासिन्दा, यात्रु, पसल सञ्चालक, र सर्वसाधारणले सास्ती खेप्नुपरेको उनले जानकारी दिए । पानी निकासका लागि सामान्य ‘ह्युमपाइप’ले काम नलाग्ने र वडाको स्रोत र साधनले मात्र यो समस्या समाधान गर्न नसक्ने पनि उनले उल्लेख गरे ।
सिरहा नगरपालिकाका नगरप्रमुख डा. नवीनकुमार यादवले बसबिट्टा क्षेत्रमा पानी निकासका लागि सरोकारवाला निकायहरूसँग समन्वयको कार्य भइरहेको बताए । “तत्कालका लागि बजार र बस्ती क्षेत्रमा जम्मा भएको पानी निकासका लागि दक्षिण–पूर्वतर्फ नाली खनेर निकास गर्ने योजना छ । त्यसैगरी, पानीको दिगो व्यवस्थापनका लागि बजेटको व्यवस्था गरी ढल निर्माण गर्ने सोचमा छौँ,” उनले भने ।
तराई मधेसका धेरै स्थानमा दीर्घकालीन असर र प्रभाव मूल्याङ्कन नगरी विकास निर्माणका काम गर्दा बर्सेनि डुबानका समस्या आउने गरेको जानकारहरू बताउँछन् । मुख्यत: सडक निर्माण गर्दा नाली र ढलको व्यवस्था नगरी पूर्वाधार विकास गरिँदा यहाँको हुलाकी सडक र महेन्द्र राजमार्गका विभिन्न ठाउँमा डुबानको समस्या देखापर्ने गरेको छ ।
विशेष गरी सदरमुकाम सिरहा, सुखीपुर नगरपालिका, गोलबजार नगरपालिका, धनगढीमाई नगरपालिका लगायतका विभिन्न क्षेत्रमा बर्सेनि डुबानको समस्या उत्पन्न हुने गरेको छ । यहाँका कतिपय विद्यालय, अस्पताल र सरकारी भवन समेत डुबानको मारमा पर्ने गरेका छन् ।




