वीरगञ्ज । वीरगञ्जको यातायात व्यवस्था कार्यालयमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) को ट्रायल र लिखित परीक्षा रोकिएको छ । यो निर्णय मधेस प्रदेशको श्रम तथा यातायात मन्त्रालयले लिएको हो ।
मन्त्रालयले कार्यालयलाई पठाएको पत्रमा आगामी भदौ १३ र १४ मा लिइने परीक्षा पछि कुनै पनि वर्गको लिखित वा ट्रायल परीक्षा बिना अनुमति सञ्चालन नगर्न निर्देशन दिएको छ ।
मन्त्रालयको पत्र प्राप्त भएसँगै यातायात कार्यालयले परीक्षा र ट्रायललाई अस्थायी रूपमा रोकेको छ । यस निर्णयको कारण, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा वीरगञ्जको यातायात कार्यालयमा भइरहेको अनियमितताको उजुरीको अनुसन्धान भइरहेको बताइएको छ ।
आयोगले उजुरीको छानबिनका लागि राय मागेपछि मन्त्रालयले परीक्षा रोक्न आदेश दिएको हो । यसैबीच, अख्तियारले वीरगञ्जको यातायात कार्यालयमा लाइसेन्स वितरणमा भएको अनियमितताको छानबिनका लागि टोली पठाएको थियो ।
टोलीले कार्यालयबाट विभिन्न फाइलहरू संकलन गरेको र ट्रायलका सिसिटीभी फुटेजहरू समेत लिएर गएको छ । सर्वसाधारणहरूले लाइसेन्स प्राप्त गर्न बिचौलियामार्फत रकम तिर्नुपर्ने गुनासो पनि गरिरहेका छन् । मधेस प्रदेशमा हाल आठ वटा जिल्लाहरूमा यातायात कार्यालयहरू विस्तार गरिएका छन् ।




