काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा सरकार पक्षले सर्वोच्च अदालतमा पुनरावेदन गर्ने तयारी गरिरहेको छ । उच्च सरकारी वकिलको कार्यालयले आइतबार रायसहितको फाइल पुनरावेदनका लागि महान्यायाधिवक्ताको कार्यालयमा पठाइसकेको छ ।
काठमाडौं जिल्ला अदालतबाट दोषी ठहर भएका लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको थियो । उच्च अदालतको फैसलापछि, घटनामा पीडित भनिएकी गौशाला-२६ (परिवर्तित नाम) ले महान्यायाधिवक्ताको कार्यालयमा निवेदन दिँदै मुद्दा अघि नबढाउन आग्रह गरेकी थिइन् ।
गौशाला-२६ ले निवेदनमा अरुको दबाब र उक्साहटमा परेर लामिछानेविरुद्ध जाहेरी दिएको खुलासा गरेकी छन् । पीडित भनिएकी गौशाला-२६ को निवेदनलाई समेत समावेश गरेर सरकार पक्षले पुनरावेदन गर्ने तयारी गरिरहेको छ ।






