एजेन्सी । युगान्डामा सोमबार भ्रष्टाचारविरुद्धको जुलुसका क्रममा तीन अर्धनग्न प्रदर्शनकारीलाई राजधानी कम्पालामा प्रहरीले पक्राउ गरेको छ । पूर्वी अफ्रिकी राष्ट्रमा भ्रष्टाचारको विरोधमा गरिएको यो प्रदर्शन युगान्डा स्वतन्त्रता अभियन्ताको ब्यानरमा आयोजित थियो, जसमा नागरिक समाजका सदस्य महिलाहरू सहभागी थिए ।
यस वर्षको सुरुमा युवाहरूको नेतृत्वमा भएको सरकार विरोधी प्रदर्शनसँग जोडिएको यो घटना संसदतर्फ जाने क्रममा महिलाहरूलाई पक्राउ गरी हिरासतमा राखिएको हो। ती महिलाहरूले “महिला र बालबालिकाको भविष्य बचाऔँ, भ्रष्टाचार अन्त्य गरौँ” भन्ने नारा लगाउँदै जुलुस निकालेका थिए ।
प्रदर्शनका क्रममा एक प्लेकार्डमा लेखिएको थियो, “युगान्डा गरिब होइन, ‘तिनीहरू’ले हाम्रो सम्पत्ति चोरिरहेका छन् ।” वकिल इरोन किइजाले एएफपीलाई जानकारी दिँदै भने, “तीन जना युवतीहरू भ्रष्टाचारको विरोध गरिरहेका थिए र उनीहरूलाई पक्राउ गरी अहिले कम्पाला सेन्ट्रल प्रहरी स्टेशनमा हिरासतमा राखिएको छ ।”
उनीहरूले के अभियोग खेपिरहेका छन् भन्ने खुलासा भने भएको छैन । युगान्डामा भ्रष्टाचार एक गम्भीर समस्या हो, जहाँ अधिकारीहरू सार्वजनिक ठूला घोटालाहरूमा संलग्न रहेको पाइन्छ ।
ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचार सूचकांकमा युगान्डा १८० देशहरूमध्ये १४१ औँ स्थानमा छ । यस वर्षको सुरुमा, संयुक्त राज्य अमेरिका र बेलायतले कथित भ्रष्टाचारका आरोपमा युगान्डाका सभामुख अनिता अमोङ र दुई पूर्व मन्त्रीहरू सहित धेरै अधिकारीहरूमाथि प्रतिबन्ध लगाएका थिए ।






