एजेन्सी । विश्वकै प्रतिष्ठित फुटबल पुरस्कार बालोन डी’ओर २०२४ का लागि मनोनयन सूची सार्वजनिक भएको छ, जसमा ३० खेलाडीको नाम समावेश गरिएको छ । यस पटक चर्चित फुटबल स्टार लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो भने मनोनयनमा पर्न असफल भए ।
सन् २००३ यता पहिलो पटक यी दुई खेलाडी मनोनयन सूचीमा छैनन् । ३७ वर्षीय मेस्सीले आठ पटक बालोन डी’ओर जितेका छन् भने ३९ वर्षीय रोनाल्डोले पाँच पटक यो सम्मान प्राप्त गरेका छन् ।
बीबीसीका अनुसार, यसपटक इंग्ल्यान्डका कप्तान ह्यारी केनसहित छ खेलाडी मनोनयनमा छन् । जुड बेलिंघम, फिल फोडेन, डेक्लन राइस, बुकायो साका र कोल पाल्मर पनि सूचीमा परेका छन् । बार्सिलोनाका १७ वर्षीय विंगर ल्यामिन यामलले पनि स्थान बनाएका छन् ।
म्यानचेस्टर सिटी र आर्सनलका संयुक्त रूपमा आठ खेलाडी मनोनयनमा परेका छन् ।
यो पुरस्कारका लागि निर्णय फिफा विश्व वरियतामा शीर्ष १०० देशका पत्रकारहरूले गर्ने मतदानको आधारमा हुन्छ । विजेता घोषणा आगामी २८ अक्टोबरमा पेरिसमा हुने समारोहमा गरिनेछ ।
पुरुष खेलाडीको सूचीमा बेलिङ्घम, रुबेन डियाज, फोडेन, फेडेरिको भलभर्डे, एमिलियानो मार्टिनेज, एर्लिङ हालान्ड, निको विलियम्स, ग्रान्ट जाका, टोनि क्रुस, भिनिसियस जुनियर, डानी ओल्मो, फ्लोरिन विट्ज, मार्टिन ओडेगार्ड, माट्स हुमेल्स, रोड्री, केन, डेक्लान राइस, भितिन्हा, कोल पाल्मर, डानी कार्भाजल, लामिन यामल, बुकायो साका, हाकन चाल्हानोग्लु, विलियम सालिवा, केलिएन एमबाप्पे, लाउटारो मार्टिनेज, एडेमोला लुकमन, एन्टोनियो रुडिगर र अलेजान्द्रो ग्रिमाल्डो छन् ।
महिलातर्फ ३० खेलाडीको सूचीमा अइताना बोनमाटी, लुसी ब्रोन्ज, लाउरेन्स जेम्सलगायतका खेलाडी छन् । सर्वश्रेष्ठ गोलकिपरको सूचीमा डिएगो कोस्टा, जियानलुजी डोनारुम्मा, ग्रगोर कोबेल, आन्द्रे लोउनिन, माइक माइगनान, जिओर्जी मामार्दाच्भिली, एमिलियानो मार्टिनेज, उनाइ सिमोन, यान सोमेर र रोनवेन विलियम्स मनोनयनमा छन् ।
युवा खेलाडीलाई प्रदान गरिने कोपा ट्रफीका लागि पाउ कुबार्सी, अलेजान्द्रो गार्नाचो, अर्दा गुलेर, जाओ नेभेस, करिम कोनाटे, कोबी माइनो, साभिन्हो, माथिस तेल, लामिन यामल र वारेन जायर एमेरी मनोनयनमा परेका छन् ।






