उदयपुर । उदयपुरको कटारी नगरपालिका १० सोरुङ छविसेमा आमाछोराको हत्या भएको छ । किराना पसल सञ्चालन गर्दै आएकी करिब ४० वर्षीया निर्मला थापा र उनका करिब ६ वर्षीय छोरा आरूस थापाको बिहीबार बिहान पसलमै शव फेला परेको हो ।
वडाध्यक्ष क्षेत्रबहादुर खड्काका अनुसार बिहान पसलमा ग्राहकहरू आउँदा आमाछोराको शव देखेका थिए । ‘निर्मला थापाको शव भुइँमा उल्टो परेको अवस्थामा भेटिएको र छोराको शव खाटमा थियो,’ उनले भने । ‘आरूसको शवमा हतियार प्रहारका चोटहरू देखिएको छ ।’
ईलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरीक्षक उमेश महतोले घटना बारे जानकारी प्राप्त भएलगत्तै प्रहरी टोली घटनास्थलतर्फ पठाइएको बताए । घटनास्थल कटारी बजारबाट ३२ किलोमिटर उत्तरमा रहेको दुर्गम पहाडी क्षेत्र हो ।
वडाध्यक्ष खड्काका अनुसार मृतक निर्मला थापाका श्रीमान अशोक थापा दुई वर्षअघि कान्छी श्रीमती लिएर भारत गएका थिए । ‘थापाहरूको मूल घर पसलबाट तीन सय मिटर टाढा छ, तर गएराति उनीहरू पसलमै बसेका थिए,’ खड्काले भने । ‘त्यही रात घटना घटेको हुन सक्छ ।’




