धनुषा । धनुषाको ढल्केबरस्थित सबस्टेसनको पावर ट्रान्सफर्मरमा समस्या आउँदा जनकपुर क्षेत्रको विद्युत् आपूर्ति अवरुद्ध भएको छ । ढल्केबर सबस्टेसनमा रहेको १३२/३३ केभी क्षमताका ६३ एमभिएका दुई ट्रान्सफर्मरमध्ये एकमा मंगलबार साँझदेखि समस्या देखिएको हो ।
दुवै ट्रान्सफर्मरबाट करिब ९० एमभिए लोड आपूर्ति भइरहेकामा, एकमा गडबडी भएपछि ३० एमभिए लोड घटाइएको छ । यसका कारण धनुषाको जनकपुरधाम, यदुकुवा, धनुषाधाम, सखुवा, महोत्तरीको जलेश्वर, गौशाला, बर्दिबास, सिन्धुलीको भिमानलगायतका क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित भएको हो ।
नेपाल विद्युत् प्राधिकरण मधेस प्रादेशिक कार्यालयले बिग्रिएको ट्रान्सफर्मरका कारण प्रभावित विद्युत् आपूर्ति पुन: सञ्चालन गर्न भारतको सुरसण्डबाट ३३ केभी प्रसारण लाइनमार्फत विद्युत् ल्याउने तयारी गरेको छ ।
सुरसण्ड–जलेश्वर प्रसारण लाइन लामो समयदेखि प्रयोगमा नरहेकाले मार्गमा पर्ने रुखविरुवा काट्ने काम भइरहेको र शुक्रबारसम्म लाइन सुचारु गरी विद्युत् आपूर्ति पुनर्स्थापित गर्ने प्रयास भइरहेको बताइएको छ ।




