काठमाडौं । नेपाली खेलकुदको प्रतिष्ठित ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड, २०८०’ अन्तर्गत वर्ष पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षकको मनोनयन सार्वजनिक गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आज पत्रकार सम्मेलनमार्फत २१ औँ संस्करणको चार मुख्य विधाका उत्कृष्ट पाँच/पाँच खेलाडी र प्रशिक्षकहरूको नाम घोषणा गरेको हो ।
पुरुषतर्फ क्रिकेटका दीपेन्द्रसिंह ऐरी र रोहितकुमार पौडेल, करातेका मोहम्मद शेख आलम, फुटबलका अनन्त तामाङ र गल्फका सुवास तामाङ मनोनयनमा परेका छन् । महिलातर्फ करातेकी एरिका गुरुङ, फुटबलकी सावित्रा भण्डारी, क्रिकेटकी रुविना क्षेत्री, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ र कबड्डीकी मेनुका राजवंशी मनोनयनमा छनोट भएका छन् । राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा २०८० मा उनीहरूको प्रदर्शनका आधारमा चयन गरिएको हो ।
युवा खेलाडीको मनोनयनमा अर्जुन कुमाल (क्रिकेट), हेमन्त पाल (भारोत्तोलन), प्रीति राई (फुटबल), सुजन गडाल (टेबलटेनिस) र सुनिरा थापा (टेनिस) छन् । प्रशिक्षक विधामा कविराज नेगी लामा (पारा तेक्वान्दो), कुशल श्रेष्ठ (कराते), मोन्टी देसाई (क्रिकेट), पार्वती राई (कबड्डी) र सञ्जय महर्जन (भारोत्तोलन) मनोनयनमा छनोट भएका छन् ।
अवार्ड कार्यक्रम भदौ २८ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा आयोजना हुनेछ । आयोजक मञ्चका महासचिव प्रज्ज्वल ओलीको नेतृत्वमा बनेको छनोट समितिले यी मनोनयनमा परेका खेलाडी र प्रशिक्षकहरूको छनोट गरेको हो । संयोजक ओलीका अनुसार यो वर्ष धेरै खेलाडी दाबेदार रहेकाले उत्कृष्ट पाँचको छनोट चुनौतीपूर्ण भएको थियो, तर सबै मनोनयनमा परेका खेलाडी विजेताजस्तै हुन् ।
यसअघि पिपुल्स च्वाइस विधाको मनोनयनमा फुटबलकी प्रीति राई, कबड्डीकी मानमति विष्ट, भलिबलकी कविता भट्ट, रग्बीका श्रीराम श्रेष्ठ र क्रिकेटका गुलसन झा परेका छन् । यस विधाको विजेता ईसेवामार्फत मतदान, २९ खेलका प्रमुख प्रशिक्षकको मत, एनएसजेएफ सदस्यहरूको मत र पल्सर स्पोर्ट्स अवार्डको आधिकारिक फेसबुक पेजमा प्राप्त लाइकका आधारमा घोषणा हुनेछ । ईसेवाको मतदान भदौ २७ गते राति १२ बजेसम्म खुला रहनेछ ।
अन्य विधाहरूमा पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम अचिभमेन्ट अवार्ड, टिम अफ दी इयर, र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डको घोषणा भने कार्यक्रमकै दिन गरिने छ । यस पटक वर्ष पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षक विधाका विजेताहरूले पल्सर एनएस २०० मोटरसाइकल प्राप्त गर्नेछन्, भने पिपुल्स च्वाइस विधाको विजेताले पल्सर एनएस ४०० मोटरसाइकल जित्नेछन् । अन्य विजेताहरूलाई जनही १ लाख रुपैयाँ र गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।






